काठमाडौं ।

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले जनताको संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।  माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिवार (आज) सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरेका हुन् । 

देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न उजले अपिल गरे । विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै उनले जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड ले जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । ‘कतिपय अझै घाइतेका रुपमा सूचीकृत हुन छुटेको भन्ने छ’ अध्यक्ष प्रचण्ड’ले  भने ‘उनीहरुलाई घाइतेको सूचीमा समावेश गरिन्छ’  ‘सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको भन्दै उनले त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्नेमा जोड दिए । 

प्रतिष्ठानका संरक्षकसमेत रहेका अध्यक्ष प्रचण्डले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मा लिने विश्वास दिलाए। सदनमा पेस भएको विद्यालय शिक्षा विधेयकले पनि त्यस्ता विद्यालयलाई समेट्ने उनको भनाइ थियो । सहिदलाई विभाजन गर्न हुँदैन भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै उनले अब सबै माओवादी विचारधारा केन्द्रिकृत हुने विश्वास व्यक्त गरे । 

माओवादी पार्टी तथा आफ्नो नेतृत्वले गरेका सकारात्मक कामलाई जनतासमक्ष पुर्याउन आग्रह गर्दै उनले सरकारले थालनी गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको बताए। शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुङ्गिने विश्वास व्यक्त गरे । नेपालको शान्ति प्रक्रियाको मोडल बाह्य जगत्का लागि पनि अनुकरणीय रहेको उउनको भनाइ थियो ।