झापा । 

नेकपा माओवादी केन्द्रले अभियानको समिक्षा गर्ने भएको छ । पार्टीको केन्द्रीय कमिटीको बैठक आइतवार (आज) राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट शुरु हुनेछ । 

आइतबार र सोमबार दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने  ‘जनतासँग माओवादी विशेष अभियान’ मा विशेष समीक्षा गर्ने कार्यसूची रहेको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

समसामयिक राजनीतिक विषय साथै पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।  माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो । बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल हुने जनाइएको छ ।