बिर्तामोड । 

२९औँ जनयुद्ध दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ । अखिल क्रान्तिकारी, वाइसीएल नेपाल र नेकपा माओवादी केन्द्रले विभिन्न स्थानमा फरक फरक कार्यक्रम गरी जनयुद्ध दिवस मनाएका हुन् । 

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तकारी) ले झापाका आठ वटा क्याम्पस तथा विद्यालयमा रक्तदान, चकलेट तथा डटपेन वितरण, भलिबल प्रतियोगिता, सरसफाई आदि गरेको जिल्ला अध्यक्ष रञ्जन धमलाले जानकारी दिए ।

अखिल क्रान्तिकारीले दमक बहुमुखी क्याम्पसमा रक्तदान, गौरादह कृषि क्याम्पसमा भलिबल प्रतियोगिता, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, जानकी आधारभुत विद्यालय सुकेडाँगी (मेचीनगर), इन्द्रचन्द्र क्याम्पस, कनकाई क्याम्पस बिर्तामोड र त्रिदेव क्याम्पस चारआलीमा डटपेन तथा चकलेट वितरण गरेको अध्यक्ष धमलाले जानकारी दिए । शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारामा सरसफाई साथै चकलेट वितरण गरिएको उनले बताए । उक्त कार्यक्रमहरु सोहि क्याम्पस समितिको आयोजनामा भएको थियो । 

वाइसीएल नेपाल र अखिल क्रान्तिकारी झापाको संयुक्त आयोजनामा बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिएको थियो । यता नेकपा माओवादी केन्द्रले झापाको विभिन्न चोकहरुमा दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको छ ।