सुरुङ्गा । 

झापाका पहिलो पटक कनकाई कला–संस्कृति तथा साहित्य महोत्सव आयोजना हुने भएको छ । झापाको कनकाई नगरपालिकामा पहिलो पटक महोत्सवको आयोजना गर्न लागिएको हो । रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा पहिलो पटक कनकाईमा तीन दिने कनकाई कला–संस्कृति तथा साहित्य महोत्सवको तयारी गरिएको शुक्रवार (आज) सुरुङ्गामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

आगामी फागुन १४, १५ र १६ गते महोत्सवको तयारी गरेको आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिए । समाजमा शैक्षिक चेतनाको स्तर त्यहाँको कला, संस्कृति र साहित्यबाट मुखरित हुने र त्यसको प्रत्यक्ष प्रभाव शिक्षालयहरूमा पनि पर्ने भएकाले पल ह्यारिसद्वारा परिकल्पना र स्थापना भएको रोटरी इन्टरनेशनलको मूल उद्देश्यलाई आत्मसात गर्दै महोत्सवको आयोजना गरिएको अध्यक्ष कँडेलले बताए । 

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा पहिलो दिन स्थानीय साहित्यकार, दोस्रो दिन जिल्लाका विभिन्न भागमा रहेका साहित्य सर्जक र तेस्रो दिन राष्ट्रिय स्तरमा ख्याति आर्जन गरेका एक दर्जन साहियकारहरूको प्रस्तुति रहने कार्यक्रमका संयोजक अखिलकुमार कोइरालाले बताए । कला, संस्कृति तथा साहित्यको यात्रामा नयाँ पुस्ता अझ उचाईमा पुग्न अभिप्रेरित गर्ने उद्देश्य महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । 

महोत्सवमा स्थानीय साहित्य गोष्टी, कविता लेखन प्रशिक्षण, हास्यव्यङ्गसहित सांस्कृतिक कार्यक्रम, पुस्तक मेला, पुस्तक डोनेशन कार्यक्रम, व्यवसायिक स्टलहरूको कार्यक्रम,  कविता लेखन प्रशिक्षक प्रशिक्षण, शिक्षक एवं इच्छुक साहित्य सर्जक, जिल्ला स्तरको साहित्य गोष्टी, व्यवसायिक स्टलहरूको कार्यक्रम, शिक्षक एवं इच्छुक साहित्य सर्जकको कविता लेखन प्रशिक्षक प्रशिक्षण,  जिल्ला स्तरको साहित्य गोष्टी, १२ वर्ष उमेर समूहका विद्यार्थीको कविता वाचन कार्यक्रम, जातिय भेषभूषा प्रदर्शनसहित शान्ति तथा एकता ¥याली, राष्ट्र स्तरको साहित्य गोष्टीलगायत हुने आयोजकले जनाएको छ । 

अग्रज कोमलप्रसाद पोखरेल, बुद्धदेवप्रसाद घिमिरे ‘सारस्वत’ लगायतले स्थापना गरेको कनकाई प्रतिभा प्रतिष्ठान, साहित्यको क्षेत्रमा प्रयत्न गरिरहेका पवन राजवंशी, हिम्मतबहादुर नेम्वाङलगायत कला सर्जकहरूको कलाप्रतिको समर्पण, गोकुल साहित्य प्रतिष्ठानलगायतका कला, साहित्य र संस्कृतिको क्षेत्रमा क्रियाशील विभिन्न संस्था तथा व्यक्तित्वहरू उक्त महोत्सवको प्रेरणाको स्रोत रहेको बताइएको छ । 

महोत्सव सम्पन्न गर्न अखिलकुमार कोइरालाको संयोजकत्वमा शिवकुमार कँडेल, खेमप्रसाद प्रसाई, लुबराज उप्रेती, लक्ष्मीप्रसाद उप्रेती, डिल्ली मैनाली, कुमारमणि पोखरेल, सुशीलकुमार श्रेष्ठ, टीका जमरकटेल र र दिवाकर तिवारीरहेको समिति निर्माण गरिएको छ । 

त्यसैगरी आर्थिक उपसमितिमा लुवराज उप्रेती, प्रचारप्रसारमा राम निरौला, अतिथि सत्कारमा सरला दाहाल, अतिथि व्यवस्थापनमा ख्याम ओली, स्थानीय साहित्यकार समन्वयमा डिल्ली मैनाली, जिल्लाका साहित्यकार समन्वयमा खेमप्रसाद प्रसाई, स्थानीय संंघसंस्था सम्पर्क र समन्वयमा कमलप्रसाद कट्टेल, विद्यालय कलेज सम्पर्कमा सुशीलकुमार श्रेष्ठ, पुस्तक डोनेशनमा शिवकुमार गिरी, स्टेज–स्टल–साउन्ड व्यवस्थापनमा दिवाकर तिवारी, स्वयंसेवक परिचालनमा प्रतापबाबु जमरकट्टेल, तालिम प्रशिक्षण व्यवस्थापनमा टीकाप्रसाद जमरकट्टेल, प्रकाशनतर्फ कुमारमणि पोखरेल, चिया–खाजा–पानी व्यवस्थापनमा मेनुका उप्रेती र कार्यक्रम उद्घोषण व्यवस्थापन विनिता मैनाली संंयोजक रहेका उप–समितिहरु गठन गरिएको छ । 

महोत्सवमा राष्ट्रियता झल्किने र संस्कृतिको प्रदर्शन गर्ने मनोरञ्जनात्मक सांंस्कृतिक कार्यक्रम पनि समावेश गरिने जनाइएको छ ।सुरुङ्गाको पशुपति अंग्रेजी माध्यमिक विद्यालयमा महोत्सव आयोजना हुने कुमारमणि पोखरेलले बताए । महोत्सव सम्पन्न गर्न अनुमानित २५ लाख ४५ हजार खर्च हुने जनाएको छ । स्थानीय सरकार, प्रदेश सरकार, विभिन्न संघ/संस्था, वित्तीय संस्थाहरू, प्रकाशन गृहहरू र विभिन्न व्यवसायी व्यक्तित्वहरूको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गर्न प्रस्तावना पेश गरिने जनाइएको छ । महोत्सवलाई २/३ वर्षको अन्तरालमा राष्ट्रिय स्तरको कार्यक्रम बनाउने प्रयत्न गर्ने आयोजकले जनाएको छ ।