झापा । 

नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने भएको छ । मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका छन् । 

लिखित पत्र भने पठाउने क्रममा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेर शपथ ग्रहण हुन लागेको हो ।

नेकपा एमाले सरकारमा ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । माओवादी केन्द्र स्रोतका अनुसार यसअघि मन्त्रिपरिषदमा रहेका ३ जनाले निरन्तरता पाउनेछन् । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन् । शक्तिबहादुर बस्नेत, रेखा शर्माले पनि मन्त्रीमा निरन्तरता पाउनेछन् । उनीहरुको मन्त्रालय भने टुंगिएको छैन । माओवादी केन्द्रकै नेता हितबहादुर तामाङले मन्त्री पदको शपथ लिए पनि मन्त्रालय टुंगो लागेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय पाएको बताइएको छ ।  रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ ।