• गोमा लुइँटेल 

देशकै परिस्थितिले भनौं या घरायसी समस्याले बर्तमान अवस्थामा अधिकांश परिवारका कोही न कोही बिदेशीने क्रम बढ्दो छ । बिदेशको भूमिमा पसिना बगाउन जानै पर्ने तीतोे यथार्थ हाम्रो समाजमा हामीले देखेकै छौं । देशको अवस्था र रोजगारी नहुँदा प्रायः गरेर परिवारका मुली श्रीमान् श्रीमती र छोराछोरीलाई घरमा छोडेर बिदेशिन बाध्य हुन्छन् ।  कतिपय परिवारमा श्रीमती नै श्रीमान् र छोराछोरीलाई घरमा छोडेर रोजगारीको शिलसिलामा बैदेशिक रोजगारको खोजीमा अन्य मुलुक गएका पनि धेरै उदाहरणहरु पाइन्छ । जो जसरी गए पनि परिवारका खातिर नै बिदेशी भूमिमा रगत पसिना बगाउन बाध्य हुन्छन् ।

अहिले प्रबिधि र इन्टरनेटको उच्च प्रयोग तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगले कसको कस्तो अवस्था या परिस्थिति छ भनेर छुट्याउन खासै गा¥हो पर्दैन । अर्कोतिर गाउँ समाजमा पनि सारो गा¥हो, भर अबर, मेलापात गर्दागर्दै सबै कुरा जानकारी भइहाल्छ । जानकारी हुन मात्रै त ठुलो कुरा भएन । तर, कतिपय अवस्थामा भने घरायसी परिवेशको फाइदा उठाएर आफ्नो स्वार्थ पुरा गर्ने जमातको पनि हाम्रो समाजमा कमी हुँदैन ।

यस्तो परिवेशको अध्ययन गर्ने हो भने पुरुष भन्दा बढी महिला शिकार भएको पाइन्छ । जब श्रीमान् वा श्रीमती बाध्यताले रोजगारीको शिलसिलामा बिदेसिन्छन् । तव एक्लोपन, घर ब्यहार, जिम्मेवारी, समाज जस्ता धेरै कुरा समालेर अगाडि बढ्न महिला पुरुष जो भए पनि निक्कै गाह्रो नै हुने गर्छ । त्यसमाथि चुनौतीपूर्ण पनि उत्तिकै छ । 

बाध्यात्मक परिस्थितिको फाइदा उठाएर भनौं या समझदारीमा भनौं कहिलेकाहीँ यस्तो परिस्थिति आइदिन्छ कि कुनै एक्लो पुरुष वा महिला दोस्रो महिला या पुरुषको सामीप्य हुन पुग्छ ।  सारो गाह्रो सर सहयोग गर्दागर्दै होस् या लामो समयको एक्लो पनले होस् उनीहरू साच्चै नजिकका साथी बन्न पुग्छन् । भनौं कि उनीहरू शारीरिक सम्पर्क सम्मको अवस्था पुग्छन् । यहाँ दोष एक तर्फी कदापि हुँदैन । न त पुरुष एक्लैबाट सम्भब छ,  न त महिला एक्लैबाट नै । 

यस्ता घटना र उदारणहरु हाम्रो समाजमा धेरै छन् । हामीले बर्तमान अवस्थामा यस्ता घटनाहरु प्रशस्तै सामाजिक सञ्जाल र आफ्नै वरिपरि गाउँ समाजमा यत्रतत्र देख्दै आएका छौं । तर, जब यस्ता घटना बाहिर आउँछन् तब एकतर्फी दोषी महिलालाई मात्रै देखाइन्छ । घर, परिवार र समाज नै उनै महिला माथि खनिन्छ । एकोहोरो उनैको मात्रै गल्ती देखाइन्छ । अनेकौं उपनाम दिएर गाली बेइज्जती गरिन्छ । उनलाई चरित्रहिन मात्रै नभेर बेश्याको संज्ञा दिइन्छ । समझदारी दुबै जनाको, सहभागिता दुबै जनाको अनि परिचय चाहिँ किन फरक ? उत्तिकै जिम्मेवार भएपछि महिला चरित्रहिन र बेश्या हुन्छिन् भने के त्यो पुरुष चाहिँ चरित्रहिन र बेश्या हुँदैन ? के पुरुष भएकै कारण उसलाई चाहिँ सबै छुट हुन्छ त ? त्यही पुरुषसँगको सहमति र समझदारीमा भएका सबै कामको दोष महिलाले मात्रै पाउनु न्याय संगत छ ? के एउटी महिला बेश्या हुँदा एउटा पुरुष पनि बेश्या हुन सक्दैन र ? महिलालाई चरित्र हत्या गरेर बेश्याको उपनाम दिदा त्यो पुरुषलाई पनि घर, गाउँ र समाजले सजाय दिन मिल्दैन र ? सबै पक्षमा दुबै जनाको सहभागिता बराबर भएपछि  परिचय चाहिँ किन फरक एउटै दिन मिल्दैन र ?

ठेगाना : शिबसताक्षी–११ दुधे, झापा 

हाल : महालक्ष्मी–४, ललीतपुर 

सम्पर्क फोन : ९८४४६३९८९०

Email : [email protected]