सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गामा रहेको ग्लोबल एजुकेयर एकाडेमीले २२ औं बार्षिकोत्सव मनाएको छ । बिद्यालय परिसरमा शनिवार (आज) बिविध कार्यक्रम गरी बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
बिद्यालयका संस्थापक सदस्य बिशाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख शिवाकोटीले आफ्ना नानीबाबुहरुको पहिलो गुरु अभिभावक भएकाले बिद्यालयको मात्र भर पर्न नहुने बताइन् ।
स्वागत बिद्यालयका लेखा प्रमुख रामकुमार भुजेलले गरेको कार्यक्रमको सञ्चालन बिद्यालयका घनेन्द्र खड्कालले गरेका थिए । कार्यक्रममा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाई, कनकाई २ का वडाध्यक्ष बलराम राई (प्रताप), बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर लामा, इलाका प्रहरी कार्यालय सुरुङ्गा प्रमुख प्रविनकुमार भट्टराई, बिद्यालयका पिटिए अध्यक्ष दिनेश भट्टराई, कार्यपालिका सदस्य कृष्णमाया भुजेल, शिवकुमार गिरीलगायतको आतिथ्य रहेको थियो ।

बिद्यार्थीले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जानात्मक बनाएका थिए । त्यस्तै बिद्यार्थीले गायन, नृत्य, नाटक, भाषण, कविता बाचनलगायतका सांस्कृतिक कार्यक्रम गरेका थिए ।
नर्सरीदेखि कक्षा १० सम्म सञ्चालन रहेको ग्लोबल एजुकेयर एकाडेमीमा ५ सय ३६ जना बिद्यार्थी अध्ययनरत रहेको बिद्यालयका प्रिन्सिपल बिमान लामाले बताएका छन् । प्रिन्सिपल लामाका अनुसार शिक्षक तथा कर्मचारी गरेर जम्मा ३७ जना रहेका छन् ।


















