बिर्तामोड । 

झापामा देभकै लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई बुधवार (आज) सम्मान गरिएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले बिर्तामोडमा महजोडी रुपमा परिचित कलाकार श्रेष्ठ र आचार्यलाई  ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको छ । प्रतिष्ठानले पहिलो पटक यो सम्मान तथा पुरस्कार प्रदान गरेको प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले जानकारी दिए ।

महजोडीलाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपैंयाँ पुरस्कारसहित सम्मान गरिएको हो। भारतको दार्जिलिङका प्रख्यात नाटककार सिके श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो ।

पुरस्कृत प्रतिभा हरिबंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफुबीचको मित्रताको लोगो मरणोपरान्त सम्झन लायक बनाउने उद्घोष गरे । उनले आफु आदर्श नागरिक भएको थाहै नपाई यस्तो पुरस्कार पाएको टिप्पणी गरे । मदनकृष्ण श्रेष्ठसँगको ४४ बर्षको सहयात्राले आफुलाई यो स्थानमा पु¥याएको भन्दै उनले मित्रताको दीर्घकालिन नमुना हुन पाएकोमा गौरव महसुस गरेको बताए ।

अर्का प्रतिभा मदनकृष्ण श्रेष्ठले हरिबंश आचार्य उनले अहिलेसम्म पाएको मध्ये सबैभन्दा ठुलो पुरस्कार रहेको बताए । उनले आदर्श नागरिक सम्मानका रुपमा आफुलाई सम्मनित गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।

पुर्ण–टुङग स्मृति प्रतिष्ठानको आर्थिक सहयोगमा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सह–सचिव स्वस्तिका आचार्यले गरेकी थिइन् ।