हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ मा बाल मैत्री स्थानीय शासन सम्बन्धी एक दिनेअभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारले कुनै पनि स्थानीय तह बालमैत्री निर्माणका लागि ५१ सुचक पुरा गर्नुपर्ने कार्यविधि तयार गरि कामहरु गरिराखेको छ । हल्दीबारी गाउँपालिकाले पनि २०८१ पौष मसान्त सम्ममा बालमैत्री बनाउन विभिन्न कार्यक्रमहरू गरिरहेको छ। पालिकाले सर्वप्रथम बालमैत्री घोषणा हुने वडालाई १० लाख थप बजेट दिने घोषणा गरेको छ।

 हल्दीबारी –४ लाई २०८१ कार्तिक मसान्तसम्ममा बालमैत्री वडा घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो भने ३१ बुँदे कार्ययोजना तयार पारिएको छ। त्यसैगरी बालमैत्री स्थानीय शासन कार्यान्वयन गराउनका लागि वडा अध्यक्ष सन्तकुमार थापाको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको छ।

वडा अध्यक्ष सन्तकुमार थापाको सभापतित्वमा भएको कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको विशेष आतिथ्य  तथा वडा सदस्यहरु भगिरथा दाहाल सुरेन्द्र बाराकोटी, तारा ढकाल र शान्ता गहतराज, विभिन्न विद्यालयका प्रतिनिधिहरु, बाल क्लवका प्रतिनिधिहरु,सुरक्षाकर्मीहरु, टोल समितिका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु र सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दीबारी गाउँपालिका भित्र का वडा मध्ये पहिलो बाल मैत्री वडा घोषणा जसले गर्छ उक्त वडालाई अरु वडा भन्दा १० लाख रुपैयाँ पालिकाको तर्फबाट बजेटमा थप गर्ने भन्दै चार नम्बर वडालाई शुभकामना समेत दिएका थिए।बालमैत्री अभियान्ता प्रशिक्षक सुमन ढकालले बाल अधिकार, बालमैत्रीका सुचकहरु लगायतका बारेमा सरोकारवालालाई प्रष्ट पारेका थिए।