बिर्तामोड । 

झापाको बिर्तामोडमा कोशी प्रदेशमै पहिलोपटक चलचित्र महोत्सव हुने भएको छ । कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको प्रवर्धन गर्ने उद्देश्य साथ महोत्सव हुन लागेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय बिराटनगरको आयोजना, नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको ब्यवस्थापन तथा चलचित्र पत्रकार संघ झापाको संयोजनमा महोत्सव हुन लागेको हो । नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशले झापाको बिर्तामोडमा शुक्रवार (आज) पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा महोत्सव आगामी जेठ ६ गतेदेखि ११ गतेसम्म हुने बताइएको छ । 

कोशी प्रदेशमा चलचित्र क्षेत्रमा लगानी वृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने उद्देश्यले महोत्सवको आयोजना गरिन लागेको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले बताए । चलचित्रले प्रदेशलाई पर्यटनसँग जोडेर ठुलो आम्दानीको स्रोतको रुपमा विकास गरेर आर्थिक रुपमा मजबुत बनाउन सक्ने महोत्सवले विश्वास लिएको छ ।

चलचित्र क्षेत्रमा विकास भएका नयाँ प्रविधि, सिर्जना, सीप, कला र शैलीका बारेमा अध्ययन तथा अनुसन्धान गर्न, विभिन्न मुलुकबीच चलचित्रको माध्यमबाट सांस्कृतिक क्षेत्रको अनुभव आदानप्रदान गर्न वा संयुक्त रुपमा लगानी गरी चलचित्र निर्माण गर्ने काममा उत्प्रेरित गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिर्तामोडमा उद्घाटन गर्ने महोत्सवमा विभिन्न जाति तथा समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिने अध्यक्ष तामाङले जानकारी दिए । महोत्सवको समापन विराटनगरमा हुने महासचिव रमेश तिवारीले जानकारी दिए । पत्रकार सम्मेलनमा याकथुङ चलचित्रका संघका अध्यक्ष नबिन मेयाङ्वो, तामाङ चलचित्र संघका अध्यक्ष भीम लामालगायतले आ–आफ्नो भनाई रखेका थिए ।

पत्रकार सम्मेलनमा चलचित्र निर्माता युवराज गिरी, कुमार सिलवाल, नविन पराजुलीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण महासचिव रमेश तिवारीले गरेका थिए । महोत्सवमा कोशी प्रदेश भरी छायङ्कन भएका तथा ४० प्रतिशतसमेत छायङ्कन गरिएका बिभिन्न भाषाका चलचित्र प्रदर्शन गरिने बताइएको छ ।