झापा । 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तत्कालका लागि वैदेशिक रोजगार व्यवसायीसँग चन्दा नउठाउने भएको छ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको भेटघाट तथा छलफलमा पार्टीका महासचिव विप्लवले ब्यवसायीसँग तत्काल चन्दा उठाउने कुनै कार्यक्रम र योजना नरहेको जानकारी गराएका हुन् ।

उनले पार्टीको नाम लिएर वैदेशिक रोजगार व्यवसायी संघ र व्यवसायीलाई केही व्यक्तिले पार्टीका लागि भन्दै ठूलै रकम संकलन गरिदिन दबाब दिएपछि मञ्चले महासचिव विप्लवलाई भेटेर चन्दा संकलनबारे धारणा माग गरेको थियो । भेटमा महासचिव विप्लवले स्वेच्छिकबाहेक अन्य कुनै पनि तरिकाबाट वैदेशिक रोजगार व्यवसायीसँग चन्दा माग नगरिएको बताएको मञ्चका अध्यक्ष धनलाल जैसीले जानकारी दिए । 

भेटमा महासचिव विप्लवले यसपटक चन्दा संकलनको कार्यक्रम नरहेकाले स्वेच्छिकबाहेक कुनै पनि प्रकारको चन्दा नदिन आग्रह गर्दै चन्दा माग गरिएकोबारे पार्टीको च्यानलमा छानबिन गर्नेसमेत आश्वासन दिएका छन् । भेटमा वैदेशिक रोजगारमाथिको अत्यधिक निर्भरता कम गर्न युवायुवतीलाई स्वदेशमा नै रोजगार र स्वरोजगार बनाउने विषयमा छलफल गरिएको पनि अध्यक्ष जैसीले जानकारी दिए । 

२०८४ को चुनावलाई पार्टीले समाजवादी अभियानका रुपमा प्रयोग गर्न लागेको महासचिव विप्लवले बताएका छन्  । छलफलमा अध्यक्ष जैसीसहित महासचिव कुन्छा दोर्जे दिमदोङ, कार्यसमिति पदाधिकारी तथा कार्यसमिति सदस्यहरू सहभागी थिए ।