- विनोद सापकोटा
झापा।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शिवसताक्षी नगरको नेतृत्व चयनको सरगर्मी बढेसँगै वर्तमान नगर सभापति अशोक बस्नेत दोस्रो कार्यकालका लागि पुनः उम्मेदवारका रूपमा अगाडि आएका छन्। १४औँ महाधिवेशनबाट नगर सभापतिको नेतृत्व सम्हालेका बस्नेतले ५ वर्षको सांगठनिक र राजनीतिक उपलब्धिलाई आधार बनाएर निरन्तरताको दाबी गरेका हुन्।
नगर अधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र अहिले एउटा प्रश्न चर्चामा छ—फेरि अशोक बस्नेत नै किन ?
बस्नेत निकट नेता–कार्यकर्ताले यसको जवाफ ५ वर्षअघिको कांग्रेस र अहिलेको कांग्रेसबीच तुलना गरेर दिन थालेका छन्। उनीहरूको तर्क छ, बस्नेतले नेतृत्व सम्हालेपछि पार्टी वडा तहको संगठनमा मात्र होइन, स्थानीय निर्वाचनको परिणाम र सामाजिक संघसंस्थामा समेत प्रभाव विस्तार गर्न सफल भएको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले शिवसताक्षीमा वडा नम्बर ४ र ६ गरी दुई वडाध्यक्षसहित ३ जना वडा सदस्य जितेको थियो। त्यतिबेला नगर प्रमुखमा कांग्रेसका परशुराम ढुंगाना एमालेका चन्द्रकुमार शेर्मासँग पराजित भएका थिए। सार्वजनिक निर्वाचन अभिलेखमा शेर्माले १४ हजार ६८४ र ढुंगानाले ९ हजार ८५६ मत प्राप्त गरेको उल्लेख छ।
त्यसपछि १४औँ महाधिवेशनबाट बस्नेतले नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको नेतृत्व सम्हाले।
उनको नेतृत्वपछि भएको २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले शिवसताक्षीका ५ वडामा वडाध्यक्ष जित्यो। वडा नम्बर ३ मा भास्कर न्यौपाने, वडा नम्बर ६ मा मनोज खुलाल कार्की, वडा नम्बर ७ मा भवानीविक्रम चेम्जोङ लिम्बू, वडा नम्बर ८ मा पार्टीका नगर उपसभापति सन्तकुमार फेवदिन र वडा नम्बर ९ मा डिल्लीलाल फेम्बु निर्वाचित भएका थिए।
२०७९ को सार्वजनिक निर्वाचन नतिजाले पनि शिवसताक्षीका ११ वडामध्ये कांग्रेस र एमालेले ५–५ तथा माओवादी केन्द्रले १ वडाध्यक्ष जितेको देखाउँछ।
बस्नेत पक्षले वडाध्यक्षको संख्या मात्रै होइन, वडा सदस्यको उपस्थितिलाई पनि सांगठनिक सुधारको अर्को आधारका रूपमा प्रस्तुत गरेको छ। उनीहरूका अनुसार २०७४ मा २ वडाध्यक्षसहित ३ वडा सदस्यमा सीमित रहेको कांग्रेसले २०७९ मा ५ वडाध्यक्षसँगै ११ जना पार्टीका सहित गठबन्धन दलका १७ जना वडा सदस्य निर्वाचित गराउन सफल भयो।
यही तथ्यांकलाई बस्नेत पक्षले उनको नेतृत्वको सबैभन्दा बलियो राजनीतिक आधार मानेको छ। ५ वर्षको अन्तरमा स्थानीय तहमा पार्टीको निर्वाचित प्रतिनिधित्व विस्तार हुनुलाई उनीहरूले संगठन विस्तार, उम्मेदवार व्यवस्थापन र अन्तरपार्टी सम्बन्धमा आएको सुधारसँग जोडेर हेरेका छन्।
यद्यपि निर्वाचनको परिणामलाई कुनै एक व्यक्तिको प्रयासको मात्र परिणाम मान्न सकिँदैन। उम्मेदवारको व्यक्तिगत प्रभाव, स्थानीय राजनीतिक समीकरण, गठबन्धन, वडा तहका नेता–कार्यकर्ताको मेहनत र मतदाताको रोजाइले पनि निर्वाचन परिणाम निर्धारण गर्छ। बस्नेत पक्ष भने यी सबै पक्षलाई संयोजन गर्न सक्नु नै नेतृत्वको सफलता भएको तर्क गर्छ।
स्थानीय तहको निर्वाचनबाहेक नगरका सामाजिक, धार्मिक र पर्यटकीय संस्थाका निर्वाचनलाई पनि बस्नेत पक्षले आफ्नो संगठनको बढ्दो प्रभावसँग जोडेको छ।
सतासीधाम क्षेत्रका धार्मिक तथा पर्यटकीय विकास संस्थाका दुई निर्वाचनमा कांग्रेस नेता तुलाराम बोखिम नेतृत्वमा पुगेको तथा अर्को धार्मिक तथा पर्यटकीय विकास संस्थाको निर्वाचनमा मोहन कार्की नेतृत्वको समूह निर्वाचित भएको उदाहरण बस्नेत निकट नेता–कार्यकर्ताले प्रस्तुत गरेका छन्। नगरका अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत कांग्रेससँग आबद्ध तथा निकट व्यक्तिहरू नेतृत्वमा पुगेको उनीहरूको दाबी छ।
तर सामाजिक तथा धार्मिक संघसंस्थाका निर्वाचनलाई पार्टीको प्रत्यक्ष राजनीतिक उपलब्धिका रूपमा मात्रै हेर्नुभन्दा सम्बन्धित संस्थाका सदस्यको स्वतन्त्र रोजाइ, उम्मेदवारको सामाजिक छवि र व्यक्तिगत योगदानलाई समेत ध्यान दिनुपर्ने हुन्छ।
बस्नेत पक्षले भने यस्ता परिणामलाई अन्तरपार्टी र सामाजिक सम्बन्ध निर्माणमा नगर नेतृत्वले खेलेको भूमिकाको संकेतका रूपमा व्याख्या गरेको छ। आफ्ना कार्यकर्ताको मतले मात्रै सामाजिक संघसंस्थाका निर्वाचन जित्न सम्भव नहुने भएकाले फरक राजनीतिक आस्था राख्ने मतदातासँग समेत सम्बन्ध र विश्वास कायम गर्न सक्नु नेतृत्वको राजनीतिक पुँजी भएको उनीहरूको तर्क छ।
यही कारण बस्नेतको दोस्रो कार्यकालको दाबी पार्टीको आन्तरिक सांगठनिक संरचनामा सीमित छैन। उनका समर्थकले निर्वाचन परिणाम, सामाजिक उपस्थिति, पुराना नेता–कार्यकर्तासँगको समन्वय, जनसरोकारका विषयमा सक्रियता र अन्य राजनीतिक दलसँगको सम्बन्धलाई एकै ठाउँमा राखेर उनको कार्यकालको मूल्याङ्कन गरिरहेका छन्।
बस्नेत स्वयं भने दोस्रो कार्यकालका लागि चुनावभन्दा सर्वसम्मत नेतृत्व चयन होस् भन्ने पक्षमा छन्।
“मैले पाँच वर्ष नेतृत्व गरिरहँदा कहीँ चुकेको भए, पार्टीलाई कहीँ क्षति पुर्याएको भए वा नेता–कार्यकर्तामा निराशा आएको भए यहाँनेर गल्ती भयो भनेर औँल्याइदिनुहोस्, मेरो उम्मेदवारी रहँदैन,” बस्नेतले भने।
उनले आफ्नो कार्यकालअघि र अहिलेको संगठनको अवस्थालाई तुलना गरेर मूल्याङ्कन गर्नसमेत नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीलाई एकताबद्ध बनाउने, गुमेको साख फर्काउने, संगठन सुधार गर्ने, जनताका अपेक्षासँग पार्टीलाई जोड्ने र अन्तरपार्टी समन्वयलाई अझ मजबुत बनाउने आफ्नो आगामी लक्ष्य रहेको उनको भनाइ छ।
केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर र वडा तहका नेता–कार्यकर्ताबाट आफूलाई उत्साहजनक समर्थन रहेको दाबी गर्दै बस्नेतले पहिलो कार्यकालमा सुरु भएका कामलाई अझ प्रभावकारी बनाउनु दोस्रो कार्यकालको उद्देश्य रहेको बताएका छन्।
अब शिवसताक्षी कांग्रेसका प्रतिनिधिसामु प्रश्न स्पष्ट छ—५ वर्षअघि २ वडाध्यक्षमा सीमित पार्टीलाई पछिल्लो स्थानीय निर्वाचनमा ५ वडाध्यक्षसहित फराकिलो प्रतिनिधित्वसम्म पुर्याएको वर्तमान नेतृत्वलाई निरन्तरता दिने कि नयाँ नेतृत्व रोज्ने रु
यसको अन्तिम निर्णय नगर अधिवेशनका मतदाता प्रतिनिधिले गर्नेछन्। बस्नेत भने आफ्नो ५ वर्षको कामको हिसाब लिएर उनीहरूकै बीचमा यतिबेला पुग्न थालेका छन् ।


















