धुलाबारी ।
नेपाली कांग्रेस मेचीनगरको नगर सभापतिका लागि भक्तबहादुर तामाङको पक्षमा माहोल बन्दै गएको छ। आगामी असोज ७ गते हुने नगर अधिवेशन नजिकिँदै जाँदा तामाङले आफ्नो पक्षमा समर्थन जुटाउँदै लगेका छन्।
नेपाली कांग्रेस मेचीनगर–११ का वडा सभापति रहिसकेका तामाङलाई वडा तहदेखि नगर तहसम्म संगठन निर्माणमा सक्रिय नेताका रूपमा हेरिएको छ। १४औँ महाधिवेशनबाट वडा सभापतिमा चयन भएका उनले आफ्नो कार्यकालमा वडा संगठनलाई मजबुत बनाउन निरन्तर सक्रियता देखाउँदै आएका छन्।
तामाङले आफू लामो समयदेखि पार्टी संगठन निर्माणमा सक्रिय रहेको र स्थानीय राजनीतिक गतिविधिमा पार्टीका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आएका छन्। विशेषगरी कालिका वनमा भएको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई विजयी गराउन नेतृत्वदायी भूमिका खेलेको उनको दाबी छ।
वडा तहमा रहेर संगठनको अनुभव हासिल गरिसकेका तामाङ अब नगरको नेतृत्व सम्हाल्ने तयारीमा छन्। पार्टीका नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाट र छलफल गर्दै आएका तामाङको पक्षमा समर्थन विस्तार भइरहेको कांग्रेस वृत्तमा चर्चा छ। उनलाई पार्टीका माथिल्लो तहका केही नेताहरूको समेत समर्थन रहेको बताइएको छ।
नगर सभापतिका लागि आफ्नो दाबी प्रस्तुत गर्दै तामाङले विगतमा नगर नेतृत्व सम्हालिसकेका नेताहरूलाई पार्टीको माथिल्लो तहमा जाने अवसर दिनुपर्ने र आफूलाई नगर संगठनको नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका छन्। ‘मसँग समय पर्याप्त छ। समयसँगै नगर पार्टीलाई हाँक्न सक्छु,’ तामाङको भनाइ छ।
तामाङले नगर सभापति बनेपछि वडा तहको संगठनलाई थप सक्रिय बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने र पार्टीलाई स्थानीय तहमा थप बलियो बनाउने योजनासहित आफ्नो दाबी अघि सारेका छन्।
यसैबीच वर्तमान नगर उपसभापति योगेन थापा मगरले पनि नगर सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्।तर, अधिवेशनको मिति नजिकिँदै जाँदा तामाङको पक्षमा देखिएको सक्रियता र समर्थनले मेचीनगर कांग्रेसको चुनावी माहोललाई थप रोचक बनाएको छ।


















