बिर्तामोड । 

 झापाको बिर्तामोड नगरपालिकाले वडा नम्बर ९ स्थित डाँडागाउँमा रहेको कोशेली अचार उद्योगलाई प्रविधि प्रदान गरेको छ ।  गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले अचार हाल्ने ड्रम र तौल लिने मेसिन हस्तान्तरण गरेको हो ।

 उक्त सामाग्री नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्योगका अध्यक्ष शान्ता रिजाल लगायतलाई हस्तान्तरण गरेकी हुन् ।  तीन सय लिटर क्षमताका ५ वटा र पाँच सय लिटर क्षमताका २ वटा गरी ७ वटा प्लाष्टिकका ड्रम र एक थान तौल मेसिन प्रदान गरीएको हो ।

 संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले उद्यमी महिलाहरुले सञ्चालन गरेको यस उद्योगलाई थप व्यवसायिक बन्नका लागि प्रेरित गर्दै सामाग्री हस्तान्तरण गरेको बताइन् । 

 कोशेली अचार उद्योग स्थानीय ६ जना महिलाहरुले सञ्चालन गर्दै आएका छन् । यस उद्योगमा आँप, कागती, अकबरे खुर्सानी, अचार पेष्ट लगायत उत्पादन हुँदै आएको छ । कार्यक्रममा शिक्षा शाखाका प्रमुख उपसचिब तिलचन भण्डारी, कार्यपालिका सदस्य संगिता सिवा लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो । 

नगरपालिकाले यसअघि जेठ १६ गतेमात्रै यहि कार्यक्रम अन्तर्गत १५ जना महिलाहरुलाई सिलाई मेसिन प्रदान गरेको थियो ।