बिर्तामोड । 

चलचित्र पत्रकार संघ नेपाल झापाले बिर्तामोडमा पत्रकारिता तालिम आयोजना गर्ने भएको छ । चलचित्र पत्रकारिता लेखन सम्बन्धी पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले आगामी असारको दोस्रो साताको शनिवार तालिमको आयोजना गर्ने संघले निर्णय गरेको हो । 

संघका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा आज (सोमवार) बिर्तामोडमा बसेको बैठकले तालिमसहित बिभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा चलचित्र पत्रकार संघ झापाले तालिम आयोजना गर्ने भएको संघ सचिव एकराज प्रधानले जानकारी दिए । 

चलचित्र पत्रकार संघ नेपाल केन्द्रको समन्वयमा सहजकर्ता ब्यवस्थापन गरी  तालिमको सञ्चालन गर्ने भएको हो । त्यस्तै आगामी आर्थिक बर्ष २०८१/०८१ मा चलचित्र पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि झापाका १५ वटै पालिकामा नयाँ कार्यक्रमका लागि प्रस्तावना तयार गरी पेश गर्ने निर्णय समेत गरेको छ ।

नेपाल पत्रकार महासंघ झापाको आगामी हुने निर्वाचनका लागि संघका पदाधिकारी तथा सदस्य उम्मेद्वार भए उनीहरुलाई समर्थन तथा सहयोग गर्ने, सिनेमा हल सञ्चालकसँग समन्वय तथा छलफल गरेर संघका सदस्यलाई समाचार संकलनका लागि टिकटको ब्यवस्था मिलाउनेलगायतमा पनि संघले निर्णय गरेको छ । 

संघले यसअघि पनि संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत गत फागुन ८ गते बिर्तामोडको एक सहकारी संस्थासँगको सहकार्यमा रक्तदान कार्यक्रम र गत जेठ ७ गते संघको २५ औं स्थापना दिवस मनाएको थियो ।