बिर्तामोड । 

केवलकार खारेजीको आन्दोलनरत पक्ष भन्छ झापा पूर्ण रुपले बन्छ भने जिल्ला प्रहरी कार्यालय झापा भन्छ झापामा बन्दको प्रभाव छैन । केबलकार खारेजीका लागि आन्दोलीत बिभिन्न सामाजिक तथा जातीय संघ/संस्था र पूर्वका राजनीतिक दलले आह्वान गरेको अरुण पूर्वका नौ जिल्लाको बन्दको प्रभाव झापामा नरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

केही दिन यता आन्दोलनरत पूर्वका राजनीतिक दल तथा सामाजिक संघ/संस्थाले आज माघ २० र भोली २१ गते अरुण पूर्वका नौ जिल्ला लिम्बुवान बन्द आव्हान गरेका छन् । केबलकार खारेजका लागि आन्दोलनरत बिभिन्न राजनीतिक दल र संघ संस्थाले आइतवार र सोमवार बन्दको घोषणा गरेका हुन् । 

 जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा प्रवत्ता कृष्णकुमार चन्दका अनुसार झापामा बन्दको प्रभाव सामान्य रहेको छ । उनले झापाको बिर्तामोडमा बिहान ४/५ जना बन्दकर्ता देखिएपनि बन्द अवरोध नरहेको बताए । यसैगरी आज बिहान बुद्धशान्तिमा बन्दकर्ताले सडकमा रुखको हाँगा राखेर सडक अवरोध गर्न खोजेको र कनकाई–८ स्थित बिरिङ पुलमा टायर बालेर सडक अवरोध गर्न खोजेपनि प्रहरीले हटाएको डिएसपी चन्दले जानकारी दिए । उनले आफ्नो हकअधिकारका लागि शान्तिपूर्ण आन्दोलन गरेपनि अरुको हकअधिकार कुन्ठित हुने गरी बन्द हड्ताल गर्न नहुने बताए । 

यता आन्दोलनरत पक्षले गिफ्तार गरिएका सम्पदा प्रेमीहरूलाई बिना सर्त रिहाई गर्नुपर्ने,  नाम्जाःगे (काफ्लेपाटी) बाट सशस्त्र र जनपथ प्रहरी फिर्ता गर्नुपर्ने, केबलकार निर्माण कार्य रोक्नुपर्ने र त्यहाँ भएका स्काभेटरलगायत अन्य सबै निर्माण सामग्री फिर्ता लानुपर्ने,  घाइतेहरूको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने, सो घटनाको उच्च स्तरीय न्यायिक छानविन समिति निर्माण गर्नुपर्ने र दोषीहरूलाई कडा कारबाही गरिनुपर्ने, चन्द्र ढाकालको केबलकार कम्पनीले घाइतेहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्नेलगायतका मागसहित २ दिने बन्द आह्वान गरेको प्रभावशाली युवानेता नेपाल जनमुक्ति पार्टीका केन्द्रीय सचिव तथा  संयुक्त पहिचानवादी मोर्चाका सङ्गठन विभाग प्रमुख एल.बी.पालुङ्वाले बताएका छन् । नेता पालुङ्वाका अनुसार शान्तिपूर्ण रुपमा बन्द गरिएको र झापामा पूर्ण रुपले बन्द रहेको छ । 

मुक्कुुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले बन्द आह्वान गरेका हुन् । 

यसैगरी कुमार लिङ्देन ’मिराक, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, प्रा.डा. महेन्द्र लावती, संयोजक, पहिचानवादी मोर्चा, सञ्जय राई, मुख्य सचिव, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समिति, रमेश राई, अध्यक्ष, जसपा सम्बद्ध किरात राष्ट्रिय समिति, धनबहादुर पन्धाक, अध्यक्ष, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी, भक्त खेवाङ, उपाध्यक्ष, नेपाल जनमुक्ती पार्टी, नयन्द्र चाम्लिङ, अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन–डिजिजिले संयुक्त रुपमा अपिल जारी गर्दै बिभिन्न माग र नारासहित  बन्द घोषणा गरेका छन् ।

उक्त मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी रहने भएकाले आम सर्वसाधारण र सम्बद्ध पक्षलाई जानकारी गराउँदै माघ २० र २१ गतेको लिम्बुवान बन्द र त्यसपछिको आम हड्तालमा साथ सहयोग र समर्थन गरिदिन आन्दोलनरत पक्षले सवैमा आग्रह गरेको छ । 

ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित बलुडाँडामा गत माघ १२ गते बेलुकी मुक्कुमलुङ संस्कृतिकर्मीहरूमाथि सशस्त्र र जनपथ प्रहरीले गरेको बर्बर दमन र गोलीकाण्डका कारण मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका गत माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्द भइरहेको छ ।