अर्जुनधारा । 

झापाको अर्जुनधारा–१ स्थित साधुटारमा रहेको त्रिपक्षीय जग्गा बिवाद समाधान हुने भएको छ । लामो समयदेखि नेपाली सेना, स्थानीय र सामुदायिक बनबीचको जग्गाको स्वामित्वलाई लिएर त्यहा बिवाद उत्पन्न भएको थियो ।

नेपाली सेनाले ‘फायरिङ प्राक्टिस’ गर्दै आएको खारभित्ता नामले परिचित त्यस स्थानमा सेनाले ९ सय ३५ बिगाहा १० कठ्ठा १० धुर जमिन पाएको थियो । सेनाले प्राप्त गरेको भनिएको मध्ये लगभग ३ सय बिगाहा जमिन स्थानीयको भोगचलनमा रहेको छ ।

स्थानीयले त्यो जमिन नापजाँचबिनै नेपाली सेनालाई दिएको भन्दै भोगचलन कायम राखेका छन् । सेनाले पटक–पटक जमिन खाली गर्न आग्रह गरेपनि स्थानीयले त्यो आग्रह अस्वीकार गरिरहेका छन् ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देनको सक्रियतामा त्यहाको जग्गा विवाद समाधानको नजिक पुगेको हो । उनको पहलमा मदन भण्डारी राजमार्गदेखि उत्तर माटे भन्ने बस्तीसम्मको लगभग ५०० मिटर चौडाई रहेको भुभाग नेपाली सेनालाई फायरिङ प्रााक्टिस गर्न पुग्ने भएकाले सेनाले पाएको भनिएको जमिनलाई त्यसैमा स्थानान्तरण गर्ने, सामुदायिक बनले चर्चेको जमिन सेनाको स्वामित्वमा राखेपनि फरक नपर्ने निर्णय भएपछि विवाद समाधानको नजिक पुगेको हो ।

आज (बुधबार) दिउँसो प्रतिनिधि सभाका सभामुख देबराज घिमिरे, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, नेपाली सेनाका पृतनापति गौरब केसी, नगरप्रमुख गोम्देन लगायतले विवादित जमिनको अवलोकन गरेका छन् ।

फायरिङस्थलमा मन्त्री अधिकारीले तीनैपक्षको हित हुनेगरी समस्याको समाधान खोजिएको जानकारी दिए । उनले त्यो बेला नेपाली सेनालाई नावजाँजबिनै जग्गा प्रदान गरिएकाले अहिले भुगोल मिलाउन सहज भएको बताए । उनले बस्ती नउठाउने गरि समस्याको निकास खोजिने जानकारी दिए ।