झापा ।

 झापामा प्रहरीले गोलि चलाएको छ । झापाको भद्रपुरमा लागूऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । भद्रपुर नगरपालिका–५ मा आज (शनिवार) दिउँसो प्रहरीले गोली चलाएर एक जना भारतीय लागूऔषध कारोबारी पक्राउ गरेको हो ।

दिउँसो ३.५० बजे भद्रपुर–५ भद्रपुर बजारस्थित भित्री सडकखण्डमा लागूऔषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापावाट प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टावाट प्रहरीको संयुक्त टोली खटिएको थियो । 

शंकास्पद अवस्थामा हिडिरहेका भारत किसनगञ्ज जिल्ला कोल्लिकोट थानाका ३६ वर्षीय मोहमद इस्लामले प्रहरीलाई देख्ने वित्तिकै प्रहरीलाई नै आक्रमण गरि भाग्न खोजेका थिए । त्यसक्रममा प्रहरीले पेस्तोलवाट २  राउण्ड प्रहार गर्दा पेस्तोलवाट १ राउण्ड उनको बायाँ खुट्टाको घुँडामुनि लागेको थियो ।

उनको साथवाट प्लाष्टिक बाहेक १०७ ग्राम १०० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको प्रहरी निगरानीमा प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।