बिर्तामोड ।

 झापाको बिर्तामोड नगरपालिकामा भएका बेतिथी, विकृति र विसंगती विरुद्ध तीन दल एक जुट भएका छन् । बेतिथी विरुद्ध सामूहिक आवाज उठाउन प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी एक जुट भएका हुन् । 

बुधबार बसेको तीन दलको बैठकले बिर्तामोड क्षेत्रमा भएका भ्रष्टाचार, बेतिथी र विसंगतीहरुका बारेमा अध्ययन गरी सार्वजनिक गर्ने, त्यस्ता कार्यहरु तत्काल सच्याउन माग गर्ने र माग सुनुवाई नभए आन्दोलनको कार्यक्रमसमेत गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बाले जानकारी दिए ।

तत्काल तीन दलको पदाधिकारी बैठक बस्ने र वडातहबाटै भए गरेका बेतिथीहरु संकलन गरी जनतामाझ लैजाने, सम्बन्धित पक्षलाई सच्चिन र सच्याउन आग्रह गर्ने र त्यति गर्दापनि नभए चरणबद्ध आन्दोलन घोषणा गरिने उनले बताए । 

बैठकमा राप्रपा क्षेत्र नम्बर २ क अध्यक्ष शंकर रिजाल, नगर अध्यक्ष लक्ष्मी गौतम, सचिव विनोद आचार्य, रास्वपा नगर अध्यक्ष दिपक दाहाल, सदस्यहरु महेन्द्र थापा, नेत्र चौलागाई, माओवादी केन्द्र नगर सचिव जगन्नाथ भट्टराईलगायत सहभागी थिए ।