बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकामा आज (शुक्रवार) २ राजनीतिक दलले नाराजुलुस  गरेका छन् । नगर उपप्रमुख नगेन्द्र संग्रौला र वडाध्यक्ष अजय कार्कीबीचको सामाजिक सञ्जाल अर्थात फेसबुक विवादलाई लिएर राजनीतिक दलहरुले नाराजुलुस गरेका हुन् । 

नगर उप–प्रमुख विरुद्ध उनीहरुले सामाजिक संजालको दुरुपयोग बन्द गर, बिर्तामोडका अराजक उपमेयरलाई कारबाही गर, अराजक उपमेयर मुर्दाबाद, सत्ताको आडमा गरिने गुण्डागर्दी बन्द गरलगायतका नारा लगाएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख संग्रौलालाई कार्वाहीको मागसहित नगरपालिका कार्यालय अगाडि नाराजुलुस गरेका थिए । बाक्लो संख्यामा रहेका प्रहरीले उनीहरुलाई नगरपालिका गेटभित्र प्रवेश गर्न रोक लगाइएको थियो । नगर भित्र प्रवेश गर्न नपाएपछि गेट बाहिर उनीहरुले नाराजुलुस र कोणसभा गरेका छन् ।

उप–प्रमुख संग्रौलालाई कारबाहीको माग गरिएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै चरित्र हत्या गर्ने, अभद्र भाषा प्रयोग गर्ने तथा समाजमा भ्रम र द्वेष फैलाउने काम गरेको भन्दै दुई राजनीतिक दलले उनलाई कारबाही गर्न मागसमेत गरेका छन् । 

नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटी र राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर कमिटीले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी उपप्रमुख संग्रौलालाई कारबाहीको माग गरेका हुन् ।