झापा । 

झापाको बिर्तामोडबाट आठ जना जुवाडे पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा जिल्ला बिर्तामोड–५, ट्राफिक बिट छेउस्थित सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको चिया÷नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राृउ गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ७ बजेको समयमा  तास तथा जुवा  खेलिरहेको अवस्थामा रकम तथा ताससहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इलाम नगरपालिका–९ गोलाखर्क घर भई हाल बिर्तामोड–५ धिमाल चोक बस्ने ३८ बर्षिय तीर्थराज तामाङ, इलाम देउमाई नगरपालिका–१ बरबोटे घर भई हाल अर्जुनधारा–११ बसपार्क बस्ने ३२ बर्षिय कुशल गुरुङ, ताप्लेजुङको पाथिभरा याङबरक  गाउँपालिका–२ थेचङगु घर भई बिर्तामोड–६ स्यालडाँगी बस्ने ४२ बर्षिय भुपालकुमार कटुवाल, पाँचथरको हिलिहाङ गाउँपालिका–८ भारपा घर भई हाल बिर्तामोड–५ किराँत चोक बस्ने २९ बर्षिय मनकुमार कटुवाल छन् । 

यसैगरी पाँचथरको फिदिम नगरपालिका–४ थापाटार घर भई हाल बिर्तामोड–५ सगरमाथा टोल बस्ने ४९ बर्षिय हमबहादुर थापा,  झापा धरमपुर गा.वि.स–२ धरमपुर घर भई हाल बिर्तामोड– ५ बसपार्क बस्ने ५१ बर्षिय गोपाल श्रेष्ठ, पाँचथर नगरपालिका–३ लालिखर्क घर भई हाल बिर्तामोड–६ बुट्टाबारी बस्ने ३५ बर्षिय सुजन श्रेष्ठ र पाँचथर हिलिहाङ  गाउँपालिका–७ धारपा घर भई हाल बिर्तामोड–५ बसपार्क बस्ने ३५ बर्षिय ध्रुव श्रेष्ठ रहेका छन् । 

उनीहरुको साथबाट खोलिएको तास  ६ बुङ नखोलिएको ६ बुङ तास गरि १२ बुङ तास र नगद एक लाख १४ हजार ५५५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ अभियुक्तहरुलाई मुलुकी अपराध संहिता २०७४ को जुवा सम्बन्धी कसूरमा  अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयबाट ४ दिन म्याद लिएर थप आवश्यक कारवाही तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।