झापा।
झापामा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान आजबाट शुरु भएको छ । असोज ५ देखि १५ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तर्गत झापाका १५ वटा पालिकाका ३० वर्ष माथिका ४ लाख ८५ हजार ५५ जनालाई जेई विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रृजकुमार दासले जानकारी दिए ।
झापा र कैलाली जिल्लामा जापानीज इन्सेफालाइटिसको रोग दर र मृत्युदर सबैभन्दा उच्च रहेका छ । त्यसैले यी जिल्लालाई उच्च प्राथमिकतामा राखी खोप अभियान शुरु भएको जनाइएको छ । जापानीज इन्सेफालाइटिसको रोगका कारण झापामा हाल सम्म सात जनाको मृत्यु भएको छ । सन् २०२६ को जुनदेखि हालसम्म जिल्लामा जापानीज इन्सेफलाइटिसबाट १३ जना संक्रमित भएका छन् । उनीहरूमध्ये ७ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्लामा सबैभन्दा धेरै मेचीनगर नगरपालिकामा चार जनामा जेईको संक्रमण देखिएकामा दुई जनाको मृत्यु भइसकेको छ भने जेईका कारण अर्जुनधारा नगरपालिका, बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकामा जेई भाइरसको संक्रमणका कारण एक÷एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा जेई संक्रमणबाट ७ जनाको मृत्यु भएको छ, यो देशभरका जिल्लामध्ये सबैभन्दा बढी हो । सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा दुई–दुई जनाको मृत्यु भएको छ भने मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रेपलाञ्चोक, दाङ, तनहुँ, नवलपरासी पश्चिम, कञ्चनपुर र रोल्पामा १–१ जनाको मृत्यु भएको छ । खोप अभियानका लागि प्रत्येक पालिकामा आवश्यक जनशक्ति तयार गरिएको र जिल्लाका सबै पालिकामा जेई खोप आपूर्ति गराइसकिएको बताइएको छ ।


















