झापा ।
सुनसरीको इटहरी उप–महानगरपालिका–२० पानीपिया जङ्गलमा आज (शनिवार) स्कुटर र बस एकापसमा ठोक्किँदा झापा बिर्तामोडका दुई जना युवाको मृत्यु भएको छ ।
इटहरी–धरान सडकखण्डमा इटहरीबाट–धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए ।
घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउँसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जनाएको छ ।
बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















