झापा ।
झापाको हल्दीबारी गाउँपालिकामा जंगली हात्तीले पाँच वटा घरमा क्षति पुर्याएको छ भने एक महिला घाइते भएकी छिन् । हात्तीको आक्रमणबाट हल्दीबारी गाउँपालिका–२ की भेलागुडी सिमसारकी ४२ वर्षीया अम्विका खड्का घाइते भएकी छन् ।
गएराति १२ः३० बजे हल्दीबारी गाउँपालिका–३ बाघडाँडामा तीनवटा जंगली हात्ती आएर निमाई बानियाको टिनको छाना तथा टिनको घेराबेरा भएको घर ,खरको छाना र टिनको घेराबेरा भएको भान्साघर, सोही स्थान बस्ने हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घर भत्काएको छ ।
त्यस्तै बिहानको राति ३ बजे हल्दीबारी गाउँपालिका–२ भेलागुडी सिमसारमा ३ वटा जंगली हात्ती आई खेम गौतमको टिनको छाना र बाँसको टाँटीबेरा भएको घर र सोही स्थानका ४८ वर्षीय नरेश खड्काको इटा सिमेन्टले बनेको टिनको छाना भएको १ तले घरको पूर्वपट्टिको वाल भत्काएको छ । हात्तीले वाल भत्काउँदा खड्काकी श्रीमती अम्विका घाइते भएकी थिइन। उनको दाहिने हातको पाखुरा र कुममा चोट लागेको छ ।
ती सबैको घर भत्काउँदा अन्दाजी ७० हजार बराबरको क्षति भएको र हात्तीहरु नेपाल प्रहरी र स्थानीयको सहयोगमा जंगलतर्फ धपाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















