बुधवारे ।
विश्वभरका नेपाली प्रतिभाहरुको सबैभन्दा ठूलो नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स– सिजन २’ को फाइनलमा पुग्न सफल नेपालकै एकमात्र प्रतिष्पर्धी झापा बुद्धशान्तिका प्रशान्त पोखरेललाई जिताउन अभियान नै थालिएको छ । बुद्धशान्ति–३ का १८ वर्षीय प्रशान्तलाई जिताउने देशव्यापी अभियानको अगुवाई बुद्धशान्तिबासीहरुले गरेका छन् ।
स्थानीय समाजसेवी मदन प्रसाईको संयोजकत्वमा प्रशान्त पोखरेल जिताऔं अभियान मूल समिति गठन गरिएको छ भने अन्य विभिन्न उपसमिति पनि निर्माण गरिएको छ । ती समितिहरुले प्रशान्तलाई जिताउन आव्हान गर्दै विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छन् । यसक्रममा प्रशान्तले अध्ययन गरेको बुद्धआदर्श माविमा मूल समितिले आज पत्रकार सम्मेलन गरी नेपालको एकमात्र गौरव प्रशान्तलाई तन, मन र धनले जिताउन सम्पूर्णलाई आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मूल समितिका संयोजक प्रसाईले नेपालका एकमात्र प्रतिष्पर्धी प्रशान्तलाई जिताउन आव्हान गर्दै उनको जित नेपाल र नेपालीहरुको जित हुने बताए । प्रशान्तलाई विजेताको रुपमा सम्मान गर्न आफूहरुले व्यग्र प्रतीक्षा गरिरहेको उनले बताए ।
प्रशान्त पोखरेल जिताऔं अभियानअन्तर्गत जिल्लाभरि विभिन्न कार्यक्रमहरु संचालन गरिने उनले जानकारी दिए । भोलि अग्रजहरुको आशीर्वाद ग्रहण गर्ने र स्थानीय जनप्रतिनिधि र पार्टी प्रतिनिधिहरुसंग भेटघाट गरी सहयोगको आव्हान गर्ने कार्यक्रम रहेको उनको भनाई छ । त्यस्तै मूल समितिका सचिव धरणी पोखरेलले आगामी शनिवार हुने फाइनलका लागि अत्यधिक भोट दिएर विजेता बनाउन हार्दिक आव्हान गरे ।


















