झापा । 

 झापाबाट लागू औषधसहित छुट्टाछुट्टै स्थानबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर र अर्जुनधारा नगरपालिकाबाट उनीहरुलाई शुक्रवार पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सिमा÷नाका चेकिङ ड्युटीमा खटिएको प्रहरी टोलीले शुक्रवार उनीहरुलाई पक्राउ परेको हो । 

मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल हुँदै भारतबाट नेपालतर्फ सिटि सफारीमा आउँदैं गरेका इलामको माई नगरपालिका–२ का २८ बर्षिय अविशेक राईलाई शंका लागेर चेकजाँच गर्दा उनले बेल्टको भित्री भागमा राखेर लुकाई छिपाई ल्याउँदैं गरेको प्रतिबन्धित लागूऔषध खैरो हिरोईन प्लाष्टिक बाहेक २ ग्राम ६३० मिलिग्राम फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । 

त्यसैगरी अर्जुनधारा नगरपालिका–८ शनिश्चरे बजारस्थित दुर्गा मन्दिर टोलका  अन्दाजी ३२ बर्षिय घनश्याम साहुले आफ्नै घर अगाडीको बाटोमा लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । 

साहुलाई चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हिरोईन प्लाष्टिक बाहेक १  ग्राम १७० मिलिग्राम र नगद फेला परेको थियो । उनको साथबाट मोबाईलसहित बरामद लागूऔषध गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।