बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का महासचिब घनश्याम भुषालले नेपालका कम्युनिष्ट पार्टीमा ठुलो उथल–पुथल हुने बताएका छन् । झापाको बिर्तामोडमा पार्टी जिल्ला कमिटी झापाद्वारा आयोजित टिकटक प्रतियोगिताका बिजेतालाई पुरस्कार प्रदान गर्ने कार्यक्रममा सम्बोधन गर्दै महासचिव भुषालले यस्तो धारणा राखेका हुन् ।
उनले नेपालका कम्युनिष्ट पार्टीमा २०८२ मा ठुलो उथल–पुथल आउने बताएका हुन् । एकीकृत समाजवादी पार्टीको चौथो स्थापना वर्षगाँठको अवसर पारेर बिर्तामोडमा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै महासचिव भुषालले जनतासँग दुरी बढ्दै गएका कारण यही बर्ष नेपालका कम्युनिष्ट पार्टीमा भुकम्पीय परिवर्तन हुने दावी गरेका हुन् ।
अहिले राजनीतिक दल र जनताबीचको खाडल झन ठुलो भइरहेको उनको भनाई छ । सबै पार्टीमा अन्यौल र उकुस मुकुस उत्पन्न भएका कारण राष्ट्रिय राजनीति अहिले भयंकर समस्यामा रहेको उनको भनाई छ ।
कार्यक्रममा महासचिव भुषालले नेकपा एमालेले २०८४ को निर्वाचन सामना गर्न नसक्ने बताए । एमालेले सरकारमा रहेर भ्रष्ट र बिचौलियालाई संरक्षण मात्र गरेका कारण आगामी निर्वाचनमा जनताको बीचमा जान नसक्ने बताए । उनले अहिले सबैभन्दा बढी जनताबाट एमाले टाढिएको दावी गरे ।नेकपा (माओवादी केन्द्र) पनि सरकारमा जान लालायित रहेका कारण उसको राजनीतिक भविष्य सुरक्षित नरहेको बताए ।
नेपाली कांग्रेससँग कुनै नीति, सिद्वान्त र बिचार नरहेका कारण उसले अब मुलुकको नेतृत्व गर्न नसक्ने दावी उनले गरे । उनले एकिकृत समाजवादी पार्टी अग्रगामी पार्टी भएको हुनाले समाजवादीकै नेतृत्वमा बलियो कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा पार्टी स्थापनाको चौथो बर्ष पूरा गरेको अवसरमा आयोजित ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ बिषयमा टिकटक बनाएका बुद्वशान्तिका झलकमान दर्जी प्रथम, मेचीनगरका नम्रता खड्का दोस्रो, मेचीनगरकै शिव सुवेदी तेस्रो र आवाज गौतम सान्त्वना पुरस्कारबाट पुरस्कृत भए । उनीहरुले क्रमश नगद १० हजार, ५ हजार, ३ हजार र एक हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए ।
जिल्ला कमिटी झापाका अध्यक्ष वीपी भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । स्वागत जिल्ला पार्टी उपाध्यक्ष सरस्वती सुब्बाले गरेको कार्यक्रममा युवा नेता वासु दुलाल र केन्द्रीय कमिटी सदस्यचन्द्रा श्रेष्ठले पार्टी र आन्दोलन तथा समसामयिक राजनीतिको विषयमा चर्चा गरेका थिए ।
सोही कार्यक्रमका बिच क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता एवं झापाका चर्चित कम्युनिष्ट नेता चेतराज राजवंशी नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । उनलाई पार्टी महासचिव भुसालले स्वागत गरेका थिए ।


















