भद्रपुर । 

नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला प्रशासन कार्यालय भद्रपुर झापामा विरोध जनाउँदै धर्ना दिएको छ । महासंघ झापाको नेतृत्वमा आज (विहीवार) प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना दिइएको थियो । 

कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्नु पर्ने माग राख्दै केही दिन यता पत्रकारहरु आन्दोलिन भएका छन् । आज कोशी प्रदेशका १४ वटै जिल्लामा महासंघले धर्ना दिएको छ । 

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको धर्ना कार्यक्रममा महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले सवै पत्रकारहरुले एकजुट भएर प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न दवाव दिनु पर्ने बताए । 

बिहान ११ बजेबाट पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय भद्रपुर झापामा १२ बजेसम्म धर्ना कार्यक्रम गरेका थिए । धर्ना कार्यक्रममा उल्लेखिय झापाली पत्रकारहरुको सहभागीता रहेको थियो । महासंघका सचिव राजु पाठकले सहजीकरण थिए । पत्रकारहरुले विरोध स्वरुप कार्यक्रममा प्ले कार्डका साथमा धर्ना कार्यक्रम गरेका थिए ।