बिर्तामोड । 

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन  भएका छन् । झापाको बिर्तामोडमा (आज) शनिवार भएको जिल्ला अधिवेशनले ओझालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । राप्रपाको ११ औं जिल्ला अधिवेशनबाट आगामी कार्यकालका लागि ओझा निर्वाचित भएका हुन् । 

यसअघि नै शुरु भएको निर्वाचन कार्यक्रममा अध्यक्षमा ओझा बाहेक अरु कसैले पनि मनोनयन दर्ता नगरेपछि उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । 

आज ११ औं झापा जिल्ला अधिवेशन तथा घोषणा कार्यक्रमको आयोजना गरी ओझाको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरिएको छ । अन्य १२ जना सदस्य अध्यक्षले पछि मनोनयन गर्ने निर्वाचन समितिका संयोजनक टंक कटवालले जानकारी दिए ।

राप्रपाका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले अधिवेशनको उद्घाटन गर्दै यो देश आफ्नै जीवनकालमा बनाउने सपना रहेको बताए । देश बनाउन धेरै चुनौती भएको त्यसलाई अवसरमा बदल्नु पर्ने उनको भनाई थियो । 

‘यो पार्टीमा बसेर पद लिने, अवसर लिने र कुनै दिन कमाउने सोच छ भने पार्टी छोडिदिनुस’ अध्यक्ष लिङ्दनेले भने ‘यो पार्टी अव भष्ट्राचार बिरुद्धको पार्टी भइसकेको छ ।’ उनले राजेन्द्र लिङ्देन पार्टीमा रहे पनि नरहे पनि भष्ट्राचार विरुद्धको पार्टी भएको दावी गरे । उनले राप्रपा सु–शासनपक्षधरको पार्टी भइसकेको समेत बताए । 

कार्यक्रममा पार्टीका कोशी प्रदेश अध्यक्ष राम थापा, केन्द्रीय प्रवक्ता एवं राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, राप्रपा नेतृ खुश्वू ओलीलगायले सम्बोधन गरेका थिए । सोही कार्यक्रमकाबिच सयौंको संख्यामा राप्रपा प्रवेश गरेका थिए ।