झापा ।

सामाजिक सञ्जाल बन्द र भष्ट्राचार विरुद्ध जेनजी पुस्ताले भोलि देशव्यापी प्रदर्शन गर्ने भएका छन्। जेनजी अर्थात  (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका)  ले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा सोमबार देशव्यापी प्रर्दशन गर्ने भएका हुन् । 

उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेका हुन्। माइतीघर मण्डलामा भोलि बिहान ११ बजे प्रदर्शन हुनेछ। विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलामा उपस्थित हुन भनिएको छ। यसबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ।

प्रधानमन्त्री भइसकेका मानिसहरू भ्रष्टाचारमा संलग्नको आरोप लागेपनि कानुनी कारबाही नभएकोलगायत विषयमा उनीहरूले प्रदर्शन गर्न लागेका हुन्। ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।

उनीहरूले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने बताएका छन्। उनीहरूले टिकटकमा ‘नेपो बेबी’ अभियान चलाएका छन्, जसमा उनीहरूले(PoliticiansNepoBabyNepal) मार्फत भिडियोहरू बनाइरहेका छन् । यो अभियान पारिवारिक पहुँचका आधारमा राजनीतिक तथा विशिष्ठ व्यक्तिहरूका सन्तानले बाँचिरहेको विलासी जीवनको विरोधमा भएको उनीहरूले बताएका छन् ।

साथै सामाजिक सञ्जाल टिकटकमा नेताहरू र उनीहरूका छोराछोरीको जीवनशैलीलाई लिएर पनि आलोचना भइरहेको छ। नेपालमा अरू सामाजिक सञ्जाल बन्द रहेपनि टिकटक र भाइबर भने सञ्चालनमा छ। जेनजी पुस्ताले भोलि बिर्तामोडमा पनि प्रदर्शन गर्ने तयारी गरेका छन् । बिहान ११ बजे बिर्तामोडको मुक्तिचोकबाट कालो माक्ससहित शुरु हुने शान्तिपूर्ण र्यालीले बिर्तामोड नगरपालिकाको कार्यालयमा पुगेर दुई घण्टा धर्ना दिने जनाइएको छ ।

यसैबीच भ्रष्टाचारविरुद्ध जेन–जी विद्रोहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको छ । त्यस्तै बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंले फेरि सडकमा उत्रिने घोषणा गरेका छन् । उनले जेन–जीले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन जनाउँदै आन्दोलनमा सहभागी हुने बताएका हुन् ।