झापा। 

जेन–जीको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा झापामा ५७ जना घाइते भएका छन् भने १० जना घाइते भएको छन्।

घाइते हुनेहरुमा १४ जना प्रदर्शनकारी रहेका छन् । त्यसमध्ये ६ जनालाई गोली लागेको छ । त्यस्तै सुरक्षाकर्मीतर्फ जनपद २५ जना र सशस्त्र १२ जना रहेका छन् । घाइतेहरुको बीएण्डसी अस्पताल बिर्तामोड, नोवल अस्पताल विराटनगर, दमक अस्पताल दमकलगायतका अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले करिव ५० राउण्ड गोली प्रहार गरेको छ भने जिल्लाभरि ८५ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ । प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । दमकमा ९ जना र बिर्तामोडमा एकजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जेनजीको बिर्तामोडमा भएको प्रदर्शनमा बिर्तामोडबाट पक्राउ पर्नेमा बिर्तामोड–५ का २३ बर्षीय बिकास खतिवडा छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरी चौकी  बिर्ताबजारमा ल्याएर राखिएको छ ।

यसैगरी दमकबाट पक्राउ पर्नेमा ताप्लेजुङ याङबरक गाउँपालिका–१  का २९ बर्षीय संदेश बिक,  कमल गाउँपालिका–६  का २६ बर्षीय आकाश राई, दमक नगरपालिका–१ का १६ बर्षीय जिपसन धमला, कमल–४ का २१ बर्षीया जसमिन कुलुङ राई, दमक–५  का ३२ बर्षीया समिरा पोखरेल, दमक–७  का १८ बर्षीय मोहन साह सहित प्रदेश नम्बर १–०२–०४०प ३०२१ मोटरसाइकल, कमल–५  का २१ बर्षीय रुपेश धिमालसहित प्रदेश न १–०१–०१२ प ७८७६ मोटरसाइकल, सोही स्थानका १९ बर्षीय प्रितम भुजेल र दमक–९ ब का २४ बर्षीय देउशरण महतो रहेका छन् ।