झापा । 

जेनजीको आन्दोलनले उग्र रुप लिने क्रम वढेसँगै झापाको बिर्तामोड र दमकमा कफ्र्यूको आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम आज विहान १०ः३० बजेदेखि साँझ ७ वजेसम्म विर्तामोड र दमक नगरपालिकाका कफ्र्यू लगाएको हो । 

विर्तामोड नगरपालिकाको पूर्वः विर्तामोड बस पार्क छिर्ने मोड, पश्चिम रामचोक, उतर महान्दचोक र दक्षिण सैनिक मोडभित्र कफ्र्यूको आदेश जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । 

यसैगरी दमक नगरपालिकाको पूर्व रतुवा पुल पारी, पश्चिममा दमक वाणिज्य कम्प्लेक्स (विजनेश टावर), उत्तर हिमालय माध्यमिक विद्यालय र दक्षिण इलाका प्रशासन कार्यालय देखि २०० मिटर दक्षिणसम्म चार किल्ला कफ्र्यूको आदेश जारी गरिएको छ । 

बिर्तामो र दमकका चार किल्ला तोकी सो सीमाभित्र कसैले आवत–जावत गर्न, भेला हुन, सभा जुलुस प्रदर्शन गर्न, बैठक र घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको सूचनामा उल्लेख छ । 

हिजो आन्दोलनका क्रममा १९ जना जेनजीको हत्या गरिएको देशैभर सयौको संख्यामा घाइते भएपछि हिजैदेखि आन्दोलनले उग्र रुपलिएको थियो । हिजो साँझ र रातिसम्म बिर्तामोडस्थित मुक्तिचोकमा रहेको ट्राफिक प्रहरी कार्यालयमा जेनजी युवा पुस्ताले आगलागी गरेका थिए भने बिभिन्न स्थानमा रहेका सिसि क्यामेरा तोडफेड गरेका थिए भने बिर्तामोड नगर प्रमुखको निवासमासमेत तोडफोड गर्ने प्रयास गरेका थिए ।

आज बिहानैदेखि झापाका बिभिन्न स्थानसहित देशभर आन्दोलनले उग्र रुप लिएको छ । बिर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा समेत आज प्रर्दशनकारीले आगजनी गरेका छन् ।