बिर्तामोड। 

जेनजीको आन्दोलनको क्रममा लुटिएका र हराएका, अनाधिकृत रुपमा भेटिएका, संकलन गरिएका हातहतियार , गोलीगठ्ठा तथा सामान–वस्तुहरु तत्काल बुझाउन झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले आग्रह गरेको छ ।

गणका युद्धकार्य अधिकृत सेनानी सुरेन्द्र योगीका अनुसार अनाधिकृत रुपमा भेटिएका, गैरकानूनीरुपमा राखिएका हतियार तथा विभिन्न स्थानबाट संकलन गरिएका   सामान–वस्तुहरु सेनालाई बुझाउन झापाबासीलाई आग्रह गरिएको छ ।

त्यस्ता हतियार, सामान–वस्तुहरु अरिदमन गण चारआलीमा बुझाउन तथा खबर गर्न भनिएको छ । गणका युद्धकार्य अधिकृत सेनानी योगीले नागरिकको जीउधनको रक्षामा नेपाली सेना अहोरात्र खटिएको जनाउदै निषेधाज्ञा तथा कफ्र्युको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

नेपाली सेनाको मुख्यालयले पनि लुटिएका हातहतियार तत्काल बझाउन सूचित गर्दै अटेर गर्नेलाई कार्वाही गर्ने जनाएको छ । जेनजीको आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री तत्काल नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन सेनाले आग्रह गरेको  हो ।

सेनाले बुधबार एक सूचना जारी गर्दै बुझाउन अटेरी गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

‘त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘साथै, यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्नुहुन समेत अनुरोध छ ।’