झापा । 

नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतल निवास पुगेको छ । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेको स्रोतको भनाई छ ।

कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको छैन । दुवै पक्ष आ–आफ्नो अडान यथावत् रहेका छन् ।

यता उज्यालो नेपालका संवाहकका रूपमा चिनिएका कुलमान घिसिङ र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पक्षमा युवाहरूले नाराबाजी गरेका छन् ।

शुक्रबार उनीहरुले शीतल निवास अगाडि नाराबाजीसहित प्रदर्शन गरेका हुन् । युवाहरूले अन्तरिम सरकार प्रमुखका लागि घिसिङ वा साम्पाङमध्ये एक जनालाई बनाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । युवाहरूको नाराबाजीपछि नेपाली सेना भने रोक्ने प्रयाससहित तयारी अवस्थामा छ ।