बिर्तामोड ।
ठूलो परिणामको प्रतिबन्धित औषधीजन्य लागूऔषध कारोवारीमा संलग्न रहेर फरार रहँदै आएका एक ब्यक्तिलाई बिर्तामोडबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
केहीदिन अघि बिर्तामोडबाट प्रहरीले निक्कै ठोलो मात्रामा लागूऔषण बरामद गरेको थियो । उक्त लागूऔषधका कारोवारी भानुभक्त खरेललाई स्थानीयको सहयोगमा आज (शनिवार) प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । बिर्तामोडस्थित नयाँ बसपार्कमा स्थानीयले फेला पारेका खरेलले आफुलाई छोडिदिन आग्रह गर्दै १५ लाख रुपैयाँ दिनेसमेत बताएको बताइएको छ ।
केही अघि इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–५ मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुई तले घरको भुईतलाको दुईवटा कोठाबाट ठूलो परिणाममा औषधिजन्य प्रतिबन्धित लागू औषध बरामद गरेको थियो ।
औषधि व्यवसायी भानुभक्त खरेलको गोदामबाट प्रहरीले बरामद गरेको लागू औषध इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको थियो । तत्कालिन प्रहरीले खरेलले सञ्चालन गरेको सनलाइट फर्मामा कार्यरत कर्मचारी अर्जुनधारा–६ दासपुलका २५ वर्षीय बिनोद घिमिरेलाई समेत पक्राउ गरेको थियो ।
प्रहरीले ट्रामाडोल हाइड्रोक्लोराइड एक लाख तीन हजार आठसय, ट्रामाडोल हाइड्रोक्लोराइड इंजेक्सन ट्रामाडेक्स एक हजार ८ सय ७० एम्पुल, ट्रामाडोल र एसिटामिनोफेन ट्याब्लेट चार हजार ५०, डाइसाइक्लोमाइन एचसीएल ट्याब्लेट २० मिलीग्राम ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट १०० मिलीग्राम (जेनेग्रा एमटी रेड १००) आठ हजार ९ सय ट्याब्लेट, मिफेप्रिस्टोन ट्याब्लेटको कम्बिप्याक आई र मिसोप्रोस्पोल ट्याब्लेट (टर्मिपिल किटहरू) ७ वटा बरामद गरेर सार्वजनिक गरेको थियो ।
बिर्तामोड–५ का ५० वर्षीय खरेलले औषधी जन्य प्रतिवन्धित लागूऔषध भण्डारण गरी राखेको अवस्थामा प्रहरीले कर्मचारी घिमिरेसहित उनले प्रयोग गर्दै आएका १–०१–०१३ प ८९०४ नम्वरको मोटरसाइकल समेत बरामद गरिएको थियो । खरेलले लामो समयदेखि मनकुमार संग्रौलाको घरमा अबैध लागू औषधको गोदाम सञ्चालन गर्दै आएको घर भाडामा लिएको दुईवटा कोठामा लागू औषध जन्य प्रतिवन्धित औषधि राखेका थिए ।


















