विर्तामोड ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले देशको वर्तमान परिस्थितिमा राजनीतिक दलहरुले आफ्नो पार्टीभित्र अटुट एकता कायम गर्दै लोकतन्त्रवादी दलहरुबीच सहकार्यमा जोड दिएका छन् ।
जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको तोडफोड र आगलागीबाट नेपाली कांग्रेस र नेकपा एमालेको झापा जिल्ला पार्टी कार्यालयहरुमा पुगेको क्षतिको अवलोकन÷निरीक्षणपश्चात उपस्थित दुवै दलका नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो भनाइ राखेका हुन् ।
संविधान मस्यौदा समितिका संयोजक समेत रहेका सिटौलाले जेन–जीको माग सामाजिक सञ्जाल सञ्चालन हुनुपर्ने, भ्रष्टाचारमुक्त सुशासन कायम हुनुपर्ने रहेकोमा २४ गते जेन–जीको मागभन्दा पृथक ढंगले देशभर एकै समयमा लुटपाट, हिंसा र आगजनीका त्रासदीपूर्ण घटना भएको बताउँदै उनले उक्त विध्वंशात्मक घटनाका योजनाकार र संलग्नहरु समयक्रमसँगै खुल्दै जाने बताए ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी को भावना बमोजिम राजनीतिक दलहरुले आफूलाई परिमार्जन गर्दै जनताका बीचमा जानुपर्ने धारणा राखे । सो क्रममा नेकपा एमालेका प्रेम गिरी र पूर्व सांसद हरिचरण शिवाकोटीले दलहरुको भावी कार्यक्रमका बारेमा कांग्रेस नेताहरुसँग जिज्ञाशा राखेका थिए ।
आगलागी भएका कांग्रेस र एमालेको पार्टी कार्यालयमा पुगेको क्षतिको अवलोकनका क्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापा, झापा सभापति देउकुमार थेवे, प्रदेशसभा सांसद गोपाल तामाङ, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य मिरा खड्का नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईं लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले जिल्ला पार्टी कार्यालयका भौतिक संरचना तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । आगजनीबाट नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा १० लाख बढीको क्षति पुगेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए। नेकपा एमाले झापाको कार्यालयमा आगजनीबाट पूर्ण रुपमा क्षति पुगेको छ ।


















