झापा ।
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाश्पयुक्त वायुको प्रभाव रहेको र जसको प्रभावले देशको विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशा तर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकोले सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ। वर्षासँगै लामो दुरीका यातायात बन्द गरिएको छ भने आन्तरिक उडान पनि स्थगन गरिएको छ ।
वर्षाका कारण नारायणघाट–मुग्लिन सडकखण्डमा काठमाडौँतर्फ सवारी आवागमन अवरुद्ध भएको छ । यसैगरी पोखरातर्फ भने यातायात सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार मुग्लिन–धादिङतर्फको जबाङ खोलामा गएको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध भएको हो। पहिरो पन्छाउने कार्य जारी रहेको र मौसमको स्थिति सुधार भएलगत्तै सडक खुलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, नारायणघाट–मुग्लिन–पोखरातर्फको सडक भने अहिले खुला रहेको बताइएको छ। प्रहरी कार्यालयले मनसुन सक्रिय रहेकाले उक्त सडकखण्डमा जतिबेला पनि पुनः अवरोध हुनसक्ने भन्दै सावधानी अपनाउन सवारी चालक र यात्रुहरूलाई आग्रह गरेको छ। शुक्रवार बेलुकीदेखि परेको पानीका कारण काठमाडौँको जनजीवन अस्तव्यस्त बनेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि वर्षाको मात्रा बढेको छ।
अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यसैगरी खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला जाने अधिकांश उडानहरू रद्द वा डिले भएका छन्।


















