झापा ।
गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जल वहाव उच्च रुपमा बढेको छ । जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन् ।
कोशीमा पानीको वहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार नदीमा निरन्तर जलमापन भइरहेको छ ।
आज बिहान ८ः१५ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड तीन लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो ।
सप्तकोशी जलमापन कन्ट्रोल रुमले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ । बाढीले उदयपुर र सुनसरीका केही क्षेत्रमा जोखिम हुने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी मिश्रले आग्रह गरेका छन् ।


















