झापा ।
अविरल बर्षासँगै खोलानालामा आएको वाढी र पहिरोका कारण मेची राजमार्गमा सवारी साधन आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आज (सोमवार) सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि भोलि अर्थात असोज २१ गते बिहान ७ बजेसम्मका लागि सवारी साधन आवागमनमा रोक लगाएको जनाएको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेशलगायतका स्थानमा मनसुनी गतिविधिहरु सक्रिय भई हाल उच्च मात्रामा वर्षा भईरहेको, मेची राजमार्गका विभिन्न स्थानमा पहिरो खसि सडक अवरुद्ध भएको, अन्य स्थानका भित्री तथा सहायक मार्गहरु समेत अवरुद्ध भएको र मेची राजमार्गको माईखोला स्थित राजदुवाली पुल उच्च जोखिममा रही सवारी साधनहरुको आवागमन सुचारु गर्न नसकिने जारी सूचनामा उल्ल्ेख छ ।
लामो तथा छोटो दुरीका सवारी साधनहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्धारा जारी सूचनामा उल्लेख छ ।


















