झापा । 

छठ पर्वको दोस्रो दिन आज बर्तालुले  ‘खरना’ विधिका तयारीमा गर्दैछन् ।  शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन  ‘नहाय–खाय’ विधिबाट पर्व शुरु  गरेका बर्तालुले आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा जुटेका हुन् ।  झापाको बिरिङ, अदुवा खोला, मेची खोला, कनकाईमाई, अन्य बिभिन्न खोलानाला, पोखरी तथा जलशायलगायतका छठ पूजाको भइरहेको छ । बिभिन्न समितिले आ–आफ्नो क्षेत्रका भक्तजनहरुलाई समेटेर भजनकिर्तनसहित सांस्कृतिक कार्यक्रमको गरी यो पर्व मनाउने गरेका छन् । 

बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने परम्परा रहेका छ ।  दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । 

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले आज सूर्यास्तपछि चन्द्रदर्शनपछि यो विधि सम्पन्न गर्नेछन् ।

पर्वको महत्त्वपूर्ण मानिने निराहार व्रत कात्तिक शुक्ल षष्ठी तिथिमा गरिन्छ  । यो मुख्य विधि भोलि सोमबार सम्पन्न गरिने तयारी छ । सूर्य उपासनाको निराहार व्रत बसेर बर्तालुले मनमोहक ढङ्गले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ ।