झापा ।
जिल्ला प्रशासन कार्यालय इलामले प्रतिकूल मौसमका कारण सवारी साधन सञ्चालनमा रोक लगाएको छ । प्रशासनले जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार प्रतिकूल मौसम हुने भएकाले तीन दिनका लागि यातायात सञ्चालनमा रोक लगाएको हो ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी प्रदेशको इलाम जिल्ला लगायत देशका धेरै भू–भागहरुमा मौसम प्रभावित हुने देखिएकोले सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
सहायक जिल्ला प्रमुख अधिकारी भोलानाथ गुरागाँईले आज (बुधवार) एक सूचना प्रकाशित गर्दै प्रतिकूल मौसमका कारण खतरा रहेकाले सवारी साधन सञ्चालन नगर्न आग्रह गरेका छन् ।
’गत असोज १८ गतेको वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग अन्तर्गतको धेरै वटा खण्डहरु जोखिमयुक्त रहेको हुँदा प्रतिकूल मौसमका कारण हुने अत्यधिक वर्षाका कारण राजमार्गमा सवारी आवागमनका क्रममा विपदजन्य घटना घट्न सक्ने कुरालाई मध्यनजर गरी इलाम जिल्ला भित्र मेची राजमार्गमा कार्तिक १३ गते बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाईएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराईन्छ ।’ जारी सूचनामा उल्लेख छ ।


















