झापा । 

झापाको मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनभित्र एउटा कार हुलेर चालकले आगजनी गरेका छन् । आज विहान १० बजेतिर चन्द्रगढी–चारआली सडकअन्तर्गत गोरखकाली सिमेन्ट फ्याक्ट्रीदेखि पश्चिमपट्टि जंगलभित्र लगेर कारमाथि आगजनी गरिएको हो । 

आगजनीबाट कार जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सडकदेखि करिव २ सय मिटर पश्चिम जंगलमा कार जवरजस्ती हुलेर आगो लगाएर चालक भागेको हातेमालो सामुदायिक वनका अध्यक्ष चन्द्र सिग्देलले जानकारी दिए । 

उनले कारलाई जंगलमा जबरजस्ती हुल्दै गरेको स्थानीयले देखेको पनि जानकारी दिए । सो कार झापा शिवसताक्षी नगरपालिका १० माईधारका सरोज शर्माको भएको खुलेको छ । 

बाग्मती प्रदेश ०१–०३च७१९४ नं कारसहित शर्मा चार दिन अघिदेखि वेपत्ता भएका थिए । कात्तिक ९ गते दिउँसो ३ः५५ बजे ३३ वर्षीय सरोज शर्मा (विवाहित) घरमा कोही कसैलाई नसोधि घरबाट सो कार लिएर गई सम्पर्कबिहीन बनेका थिए । 

कारलाई चालकले जंगलमा आगो लगाइदिएर भागेको अनुमान गरिएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ ।