झापा । 

झापाका पुराना पत्रकार एवम् समाजसेवी गोपीकृष्ण खनालको स्मृतिमा स्थापित गोपीकृष्ण स्मृति प्रतिष्ठानले यस पटक समाजसेवा क्षेत्रबाट एकजना उत्कृष्ट समाजसेवीलाई सम्मानसहित पुरस्कृत गर्ने भएको छ । खनालको २०७५ साल साउन ३ गते दुर्घटनामा परी निधन भएको थियो । 

उनको स्मृतिमा परिवारजनको तर्फबाट स्थापना गरिएको सो प्रतिष्ठानले प्रत्येक २ वर्षमा एक कार्यक्रमको आयोजना गरेर बिभिन्न बिधाका सक्रिय एवम् समाजमा उल्लेख्य योगदान गर्ने एकजना व्यक्तिलाई सम्मनित एवम् पुरस्कृत गर्ने गरेको प्रतिष्ठानका अध्यक्ष मनोज खनालले जानकारी दिए। यस पटक झापा जिल्लाबाट छनोट गर्ने गरी समाजसेवा तर्फबाट एकजना समाजसेवीलाई बिशेष सम्मानसहित ५० हजार राशिको पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सचिब एवम् लेखक पत्रकार तीर्थ सिग्देलले बताए । 

उनका अनुसार आगामी पुस २९ गते स्वर्गीय खनालको जन्म जयन्तीका दिन त्यसरी छनोट भएको व्यक्तिलाई सम्मान पुरस्कार प्रदान गरिनेछ । यसअघि सो सम्मान पत्रकारिता क्षेत्रबाट पुराना पत्रकार नकुल काजी र साहित्य तर्फ कोमल पोखरेललाई प्रदान गरिएको थियो । र, यसैको निरन्तरता स्वरुप यसपटक  समाजसेवा तर्फबाट प्रदान गर्न लागिएको हो । 

यसका लागि प्रतिष्ठानका तर्फबाट सचिब सिग्देलले एक बिज्ञप्ति प्रकाशित गरी सो पुरस्कारका लागि शिफारिस आह्वान गरेका छन् । जस अनुसार योग्य व्यक्ति शिफारिसका लागि झापाका १५ बटै पालिकामा पत्राचार गरिएको छ भने झापा जिल्लाका बिभिन्न संघ संस्थाहरुलाई निस्वार्थ भावले सामाजिक कार्यमा सक्रिय व्यक्ति छनोटका लागि शिफारिस गरिदिन अनुरोध गरिएको छ । यसका लागि कम्तीमा १० वर्षदेखि क्रियाशील, कुनै पार्टी, समुदाय वा वगीय रुपमा नलागी निश्वार्थभावले समाजसेवामा तल्लिन रहेको व्यक्ति हुनुपर्ने छ । सो शिफारिस कार्तिक मसान्तभित्रमा गरिसक्नुपर्ने जानकारी दिइएको छ ।