बिर्तामोड ।
नेकपा एमाले बिर्तामोड नगर कमिटीले जेनजी आन्दोलनका क्रममा व्यक्तिगत र सार्वजनिक सम्पत्तीमा आगजनी र तोडफोड गर्नेलाई कारवाहीको माग गरेको छ । एमाले नगर कमिटीले आज (बिहीवार) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको बिचार र माग सार्वजनिक गर्दै आन्दोनका क्रममण तोडफोड, आगजनी र विध्वंसका घटनामा संलग्नलाई कारवाहीको मग गरेको हो ।
जनताको रोजाइ र भरोसाको सशक्त राजनीतिक शक्ति नेकपा एमाले भएको जनाउँदै आगामी दिनमा पनि आफ्नो गरिमा, गौरव र साख जोगाइ राख्न प्रतिबद्ध रहने जनाएको छ। नगर कमिटीद्धारा पत्रकार सम्मेलनमा बितरित विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रियता, प्रजातन्त्र तथा लोकतन्त्रको स्थायित्व र संविधानको रक्षार्थ नेकपा एमालेले निरन्तर जिम्मेवार भूमिका निर्वाह गर्दै आएको छ।’
जारी विज्ञप्तिमा भनिएको छ ‘गत भदौ २३ गते नवयुवा जेएनजी पुस्ताले विभिन्न मागसहित गरेको आन्दोलनका क्रममा १९ जना नवयुवाको मृत्यु र त्यसपछिको तोडफोड, आगजनी तथा लुटपाटका घटनाप्रति एमालेले गहिरो दुःख व्यक्त गरेको छ। बिर्तामोडमा प्रहरीसँगको प्रतिकारका क्रममा ज्यान गुमाएका तीन जना आन्दोलनकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ। पत्रकार सम्मेलनमा एमालेले आन्दोलनपछि भएको क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ।
नेकपा एमाले नगर कमिटी अध्यक्ष सुवास भट्टराईको घर, गाडी र स्कुटरमा आगजनी तथा लुटपाट, पूर्व नगर–प्रमुख ध्रुवकुमार शिवाकोटीको घर र गाडीमा आगजनी, प्रदेश मन्त्री एकराज कार्कीको घरमा तोडफोड, नगरप्रमुख पवित्रा महता प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र बिर्तामोड– ३ का वडाध्यक्ष मदन बुढाथोकीको गाडीमा तोडफोड, शिक्षक हित साकोस कार्यालय, गरामनी क्याम्पस, बिर्तामोड नगरपालिका कार्यालय भवन र गाडी, बिर्तामोड वडा नम्बर १, २, ३, ४, ५, ७ र ९ का वडा कार्यालयहरू, यातायात व्यवस्था कार्यालय मेची, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय अनारमनी, नेकपा एमाले झापा जिल्ला कार्यालय, एमाले बिर्तामोड ७, ८, ९ को संयुक्त पार्टी कार्यालय र उद्रकान्त प्रतिष्ठानमा आगजनी र लुटपाट भएको उल्लेख गरिएको छ।अध्यक्ष भट्टराईका अनुसार अन्य तोडफोड र आगजनीका केही छुटेकाले त्यसलाई पनि समेट्दै त्यस्ता घटनामा संलग्नलाई कारवाही हुनुपर्नेछ ।
पार्टीले यी सबै क्षतिको मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन र दोषीहरूको पहिचान गरी कानुनी कारबाही गर्न सरकार समक्ष जोडदार माग गरेको छ। त्यस्तै, बिर्तामोड–८ गरामनी बजारमा रहेको शहीदहरूको प्रतिमा तोडफोडमा संलग्न व्यक्तिहरूलाई पनि कारबाही गर्न माग गरिएको छ।
एमालेले हालको असंवैधानिक सरकारप्रति असन्तोष जनाउँदै संसदद्वारा पारित बजेट कटौती गरेर बिर्तामोड नगर क्षेत्रमा विनियोजित करोडौँ रुपैयाँका योजना रोकिएको आरोप लगाएको छ। पार्टीले रोकेका सबै योजनाहरू तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गरेको छ। एमालेले प्रस्तुत गरेको योजनाहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत बिर्तामोड रिङरोड निर्माण (४ करोड), गोल्धाप–सुन्दरपुर सडक (३ करोड), चैत नेत्र मार्ग सुधार (४ करोड), सैनिक मोड–तेलकानी पोखरी सडक (३ करोड), झापा मिनाचोक–उखुबारी सडक स्तरउन्नति (३ करोड), झापा क्षेत्र नं. २ चक्रपथ स्तरउन्नति (८ करोड) गरी २८ करोडका योजनाहरू समावेश छन्।
साथै सहरी विकास मन्त्रालय अन्तर्गत हर्चनामा तटबन्ध (३ करोड), मोहनमाया माध्यमिक विद्यालय भवन निर्माण (३ करोड), देउनियाबाट घैला डुब्बा जोड्ने सडक (३ करोड), देउने पुल–मसले टोल हुँदै बिर्तामोड ७ जोड्ने सडक (३ करोड), मण्डमार्ग कालोपत्रे (३ करोड) लगायतका योजनाहरू उल्लेख छन्।
त्यस्तै, बेमौसमी वर्षाका कारण सयौँ बिघामा पाक्न लागेको धान नष्ट भएकाले प्रभावित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि एमालेले माग गरेको छ। पार्टीले आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने ११ औं महाधिवेशनका तयारीका लागि सम्पूर्ण कार्यकर्तालाई सक्रिय सहभागिताको आग्रह गरेको छ। साथै, कार्तिक २२ गते वडा स्तरीय, २५ गते पालिका स्तरीय र २९ गते जिल्ला स्तरीय जनजागरण सभा आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
पार्टीले निर्वाचित प्रतिनिधि सभाको कार्यकाल नसकिँदै गरिएको विघटनलाई असंवैधानिक बताउँदै यसको पुनर्स्थापना र संविधान संशोधन नै वर्तमान समस्याको दीर्घकालीन समाधान हुने धारणा राखेको छ भने संविधान संशोधनमार्फत नवयुवाको माग सम्बोधन हुनेगरी प्रतिनिधित्व सुनिश्चित हुने निर्वाचन नै नेकपा एमालेको प्रमुख माग भएको विज्ञप्तिमा भनिएको छ। कार्यक्रममा बिर्तामोड नगर–प्रमुख पवित्रा महता प्रसाईं, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले केन्द्रीय सदस्य अमृतलाल राजवंशी, नगर कमिटी सचिव अम्बिका लिङ्देन, सह–सचिव गंगालाल राजवंशीलगायतको उपस्थिति रहेको थियो।


















