झापा । 

झापाको भद्रपुरबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका–३  का ३१ बर्षीय अनुप महतो, बिर्तामोड–३ कंचनजङगाका अन्दाजी ३० बर्षीय देबराज श्रेष्ठ, बिर्तामोड–५ शान्तिटोल  का अन्दाजी ४० बर्षीय रामकुमार मौली र हल्दीबारी–३ जलथलका अन्दाजी  २० बर्षीय सुफर मर्डी छन् । उनीहरु शुक्रवार पक्राउ परेका हुन् ।

शुक्रवार ४ बजेको समयमा भद्रपुर–५ मेचीबिटबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री अनुप महतोलाई शंका लागेर चेकजाँच गर्दा उनले मलद्धार भित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध (ब्राउन सुगर) प्लाष्टिक बाहेक तौल गर्दा ९ ग्रामसहित उनलाई नियन्त्रणमा लिइएको हो । 

यसैगरी साँझ ७ बजेको समयमा भद्रपुर–५ मेचिबिटबाट वडा प्रहरी कार्यालय भद्रपुरबाटै  खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्रीहरुलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको गोजीमा प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध (ब्राउन सुगर) सहित नियन्त्रणमा लिइ  अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको छ । 

देबराज श्रेष्ठको गोजीबाट  प्लाष्टिकसहित प्लाष्टिक बाहेक तौल गर्दा २ ग्राम ६० मिलिग्राम, रामकुमार मौलीको साथबाट प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम २० मिलिग्राम र सुफर मडीको साथबाट प्लाष्टिक बाहेक तौल गर्दा ५२० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।