झापा ।
झापाको बिर्तामोडबाट निरन्तर प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक आजबाट ३१ औं वर्षमा प्रवेश गरेको छ । स्थानीय सरोकार, क्षेत्रीय आवाज र राष्ट्रका महत्वपूर्ण घटनाक्रमलाई सन्तुलित रूपमा प्रस्तुत गर्दै आएको पूर्वाञ्चलले पत्रिकाले अब डिजिटल रूपान्तरणको नयाँ यात्रामा अघि बढ्ने घोषणासहित ३ दशकको सफल यात्रा पार गर्दै नयाँ ऊर्जासहित ३१ वर्ष प्रवेश गरेको हो ।
लेटर प्रेसको सीमित ढाँचाबाट सुरु भएको पूर्वाञ्चल दैनिक अहिले अत्याधुनिक अफसेट प्रविधिमा प्रकाशित छ। मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याएर उदाहरण बनेको पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालबाट ‘क’ श्रेणी प्राप्त विश्वसनीय पत्रिका पनि हो ।
बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिले प्रकाशन तथा वितरणको जिम्मेवारी सम्हाल्दै आएको छ । ३१ वर्ष प्रवेशको अवसरमा संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल दैनिकलाई यो स्थानसम्म ल्याउन साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् । पत्रिकाको विकासमा पाठक, विज्ञापनदाता र सम्पूर्ण सहकर्मीहरू आधार स्तम्भ भएको व्यवस्थापक चन्द्रकान्त ढकालको बताए ।
सामान्य छापाखानाबाट सुरु भएको पत्रिका अहिले प्रिन्टसँगै डिजिटल माध्यममा पनि समान रुपमा सक्रिय छ । प्रविधिको द्रुत विकाससँगै पूर्वाञ्चल दैनिकले आफ्नै अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकसँग प्रत्यक्ष सम्पर्क कायम गरेको छ । मोबाइलमै ताजा समाचार, अपडेट, रंगीन ई–पेपर पढ्न सकिने सेवा विस्तारपछि नयाँ पुस्तामा यसको पहुँच उल्लेख्य रूपमा बढेको छ ।


















