बिर्तामोड । 

झापाको मेचीनगर नगरपालिका–७ स्थित इटाभट्टाकी एक महिला करिव १० दिन अघिदेखि वेपत्ता भएकी छिन् । बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल रंगाशाला छेउ माइती घर भएकी ३२ बर्षीया बिमला राजवंशी इटाभट्टास्थित घरबाट गत कार्तिक २२ गते शनिवारदेखि वेपत्ता भएकी हुन् । 

बिमलाका श्रीमान ३३ बर्षीय सुवोध राजवंशी हाल वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका बिमलाका बुबा भीमबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार ज्वाई करिव २ बर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका हुन् । 

बिमला र सुवोधका १५ बर्षीया छोरी हर्षिका र १० बर्षीय छोरा मनिष छन् । गत कार्तिक २२ गते शनिवारका दिन बिहान ८ बजे ब्यूटीपार्लर जान्छु भनेर हिडेकी बिमला सम्पर्कमा नआएपछि खोजी गरिदिन इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिएको बिमलाका बुबा भीमबहादुरले जानकारी दिए । यसैगरी छोरी खोजी गरिदिन माइती नेपाल काँकरभिट्टामा पनि छोरीको फोटो दिएर जानकारी गराएको उनको भनाई छ । 

हाल बिमलालाई घर र माइती पक्षले खोजीगरिरहेका छन् ।  माइती पक्षका अनुसार स्थानीय एक युवाको साथमा हिडेको हुन सक्ने अनुमान छ । 

बिमलाकी आमा ललीता राजवंशीले छोरी हराएदेखि खाना खान छोडेकी छिन् । उनी रातभर निद्रा नलाग्ने गरेको बताउछिन् । ‘नातीनातिनाले आमा खोजिरहेका छन्’ ललीताले रुदै भनिन् ‘छोरी तिमी जहाँ भएपनि जस्तो अवस्थामा भएपनि घर फर्क ।’ उनले विमलालाई घर फर्कन आग्रह गर्दै अर्केसँग गएको भएपनि उनले चाहे जस्तो गरिदिने बताइन् । 

प्रहरीले मोवाइल फोनको लोकेशन हेर्दा भारतको अरुणाञ्चलस्थित पासीघाटको देखाउने गरेको माइती पक्षले जानकारी दिएका छन् ।