झापा । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशमा आगलागीको घटना बढ्दै गएको भन्दै सावधानी अपनाउनु आग्रह गरेको छ ।  शनिवार मात्र देशभर १८ विपद्का घटना भएको र त्यस मध्ये आगलागीका मात्र १५ घटना भएका प्राविधकरणले जनाएको छ । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईवटा घटना घटेका छन् ।

मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको थियो । सो दिन मनाङको नासो गापा–१ तालडाँडास्थित बेँसीसहर–चामे सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भएको थियो । धनुषा र डडेल्धुरामा सर्पदंशका घटना भयो । विपद्का कारण दुई जना घाइते भए भने अनुमानित ५३ लाख सात हजार ५५० रुपैयाँ बराबर क्षति भएको प्राविधकरणले जनाएको छ । 

त्यसैगरी, मङ्सिर ५ गते देशभर १९ वटा,  विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए । त्यस दिन सुनसरी र पर्सामा दुई–दुईवटा आगलागीका घटना भएका थिए । प्राधिकरणका अनुसार झापा, पाँचथर, सुनसरी, खोटाङ, उदयपुर, सर्लाही, रौतहट, बारा, लमजुङ, पर्वत, नवलपरासीपूर्व र पाल्पामा आगलागी हुँदा भौतिक सम्पत्तिको क्षति भयो ।  त्यस दिन पाल्पाको रिब्दीकोट–३ मा सुक्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको थियो । सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइते भएकालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो । 

प्राधिकरणका अनुसार मंसीर ४ गते देशभर २० वटा विपद्का घटनामा घटनामा अनुमानित क्षति  १३ लाख ६५ हजार बराबर, मंसीर ३ गते देश व्यापी रूपमा १६  विपद्का घटना ३१ लाख १४ हजार बराबरको भौतिक क्षति भएको र मंसीर  १ गते कुल १० विपद्का घटना घटेकामा सबै आगलागीका भएको तथा आगलागीमा १४ लाख ९३ हजार बराबरको धनमाल जलेर नष्ट भएको थियो । 

जनचेतनाको अभाव एवं लापरवाहीका कारण आगजनी हुँदा ठूलो क्षति हुन पुगेको छ । प्राधिकरणले आगो बाल्दा र ज्वलनशील पदार्थ चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ । सामान्य सावधानी अपनाउँदा पनि ठूलो मेहेनतले सृजना गरेको भौतिक सम्पत्ति जोगाउन सकिने भन्दै प्राधिकरणले सबैलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ ।