बिर्तामोड ।
जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई दाताहरुले आवश्यक सामाग्री सहयोग गरेका छन् । जेननजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।
यसैक्रममा आज (आइतवार) जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका लागि अर्जुनधारा यातायात प्रालिले एक थान अफिस टेवल र एक थान अफिस दराज हस्तान्तरण गरेको छ । प्रालिका सञ्चालक संयोजक प्रशन्न श्रेष्ठ, सदस्यहरु भूपाल ढकाल, गोपाल कार्की, खगेन्द्र तिम्सिना, एलबिन्द्र खत्री, हरि कार्की र धिरज कोइरालाले संयुक्त रुपमा उक्त टेवल र दराज हस्तान्तरण गरेका हुन् ।
यसैगरी इनर्जी सोलुशन एण्ड सप्लायर्स बिर्तामोडले ३५ हजार रुपैयाँ बराबरको बिद्युतिय सामाग्री ट्राफिक कार्यालयका लागि दिएको भवन पुनः निर्माणका अगुवा बिपिन बजगाईले जानकारी दिए ।
उनका अनुसार सप्लायर्स प्रोपाइटर भवानी शिवाकोटीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, भवन पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा बिपिन बजगाँई, रमेश चौधरीलगायतलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो ।


















