शनिश्चरे। 

झापाको अर्जुनधारा नगरपालिकास्थित  शनिश्चरे बजारमा आगलागी भएको छ । गएराति अन्दाजी ८ः४० बजेको अर्जुनधारा–८ शनिश्चरे बजारका सन्तोष शाहको दुई तले पक्की घरमा आगलागी भएको हो । शाहले सञ्चालन गर्दै आएको हार्डवेयर पसलमा अचानक बिद्युत सर्ट भएर आगलागी भएको हो ।

सशस्त्र प्रहरी सुरक्षा बेश शनिश्चरे, प्रहरी चौकी शनिश्चरे, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको दमकल र स्थानीयको  सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।